सहसचिव तीर्थराज भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मंसिर २५, २०८२

मातृका दाहाल

Corruption case filed against 6 including Joint Secretary Tirtharaj Bhattarai

काठमाडौँ — भिजिट भिषा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ । अख्तियार स्रोतका अनुसार मुद्दा दायर भएका अन्य चार जना भिजिट भिषा तस्करीमा बिचौलियालगायतको भूमिकामा काम गरेकाहरु छन् । 

भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । तर एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौं जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गर्यो । 

सम्बन्धित समाचार 

भिजिट भिसा प्रकरणमा अदालतको फैसला : बिचौलिया दोषी, पैसा असुल्ने अधिकृतलाई सफाइ

अध्यागमनमा निरन्तर ‘सेटिङ’ : अनुसन्धान रोकिन्छ, असुली रोकिँदैन

गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully