पाका पुस्ताका लागि रामपुरमा खुल्यो ज्येष्ठ नागरिक स्कुल

स्कुलमा पाकापुस्ताले फुर्सदको समयमा बत्ती काट्ने, दुना–टपरी बनाउने वा अन्य जानेको र गर्न सक्ने कामबाट तयार हुने सबै सामग्री बिक्री–वितरणको व्यवस्था मिलाइनेछ ।

मंसिर २४, २०८२

माधव अर्याल

Senior Citizens School opens in Rampur for the older generation

What you should know

काठमाडौँ — रामपुर नगरपालिकाले बुधबारदेखि रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । रामपुर नगरपालिका–५, रामघाटमा सुरु भएको रामपुर ज्येष्ठ नागरिक स्कुलको प्रमुख उद्देश्य अनुभव र ज्ञानको आदानप्रदान गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्नु रहेको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए ।

स्कुल निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहका साथै स्थानीय बासिन्दाको सहयोगसमेत गरी १ करोड २६ लाख खर्च भइसकेको छ । ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने उनले बताए । ‘पुस्ताहरूको सीप हस्तान्तरणको केन्द्रका रूपमा समेत यसलाई विकास गर्ने लक्ष्य रहेको छ,’ उनले भने, ‘पाकापुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउने प्रमुख उद्देश्यका साथ यो स्कुल सञ्चालन गरिएको हो ।’ पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण यो स्कुलले गर्नेछ ।

पाकापुस्ताले आफूले सिकेको सीप, संस्कार र संस्कृतिसँगै परम्परागत सीप अहिलेका पुस्तामा हस्तान्तरण गर्न पनि यो स्कुलको महत्वपूर्ण भूमिका रहने नगरप्रमुख थापाले बताए । ज्येष्ठ नागरिकलाई आफूले जानेको, गर्न सक्ने सीप र कलाको सदुपयोगका लागि आवश्यक वातावरण निर्माण गर्ने रामपुर नगरपालिकाको योजना अनुसार स्कुल सञ्चालन गरिएको हो ।

ज्येष्ठ नागरिकले स्कुलमा बसेर उत्पादन गरेका सामग्री बिक्री–वितरणको जिम्मा नगरपालिकाले लिनेछ । ज्येष्ठ नागरिकलाई आचार्य (पण्डित) हरूमार्फत धार्मिक प्रवचनसमेत दिइनेछ । पाकापुस्ताले फुर्सदको समयमा बत्ती काट्ने, दुना–टपरी बनाउने वा अन्य जानेको र गर्न सक्ने कामबाट तयार हुने सबै सामग्री बिक्री–वितरणको व्यवस्था मिलाइनेछ ।

Senior Citizens School opens in Rampur for the older generationसामग्रीको रामपुर नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख कोसेली घरमार्फत बजारीकरणको व्यवस्था मिलाइने उपप्रमुख बालकुमारी थापाले बताइन् । ज्येष्ठ नागरिकबाट परम्परागत सीप र संस्कारको विषयमा नयाँ पुस्तालाई जानकारी दिन रामपुर नगरपालिकाभित्रका विद्यार्थीलाई ज्येष्ठ नागरिक स्कुलसम्म लैजाने व्यवस्था मिलाइनेछ ।

ज्येष्ठ नागरिकलाई स्कुलसम्म आउन–जानका लागि नगरपालिकाले स्कुल बसको समेत व्यवस्था गरेको छ । रामपुर नगरपालिकाका १० वटै वडाका ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याउने र बेलुकी घरमा छाड्ने व्यवस्था गरिनेछ । स्कुल बसले पहिलो चरणमा कालीगण्डकी करिडोर सडक क्षेत्रका ज्येष्ठ नागरिकलाई सेवा दिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए । यसबाहेक सकेको र समयले पुगेसम्मका सबै क्षेत्रका ज्येष्ठ नागरिकलाई ल्याउन–लैजाने व्यवस्था गरिने उनले बताए ।

ज्येष्ठ नागरिकलाई शारीरिक व्यायामका लागि आवश्यक उपकरणसमेत व्यवस्था गरिएको छ । ‘आफूले सकेका सामग्री प्रयोग गर्ने, योग, ध्यान गर्ने वा प्रवचन सुन्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘पाका पुस्ताले आफूले जानेका सीपलाई हस्तान्तरण गर्न सक्ने विषयवस्तुका बारेमा समेत दैनिक कार्यतालिका बनाएर काम गरिनेछ ।’ रामपुर नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । रामघाटमा झण्डै १ करोडको लागतमा स्कुल भवन निर्माण भएको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए ।

भवनसँगै परिसरमै आचार्य (पण्डित) निवास, ज्येष्ठ नागरिक केन्द्र, आवास, व्यायाम सामग्री हल लगायतका संरचना निर्माण भएको रामपुर ज्येष्ठ नागरिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए । स्कुल सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आवश्यक सहयोग प्राप्त भएको उनले बताए ।

Senior Citizens School opens in Rampur for the older generationस्कुलभित्र परम्परागत ढिकी–जाँतो समेत निर्माण गरिएको छ । ज्येष्ठ नागरिकलाई आवाससँगै दिवा खाजाका लागि चमेनागृह र स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरिएको समाजसेवी सन्दीप रानाले बताए । स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजन–कीर्तन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, सन्ध्याकालीन आरतीको व्यवस्था गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँडले बताए । स्कुललाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ । उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्षमा चन्द्रा न्यौपाने, सहसचिवमा सुरज गौतम, सदस्यमा दुर्गाप्रसाद पोखरेल, सुन्दरप्रसाद देवकोटा, कृष्णप्रसाद अर्याल, फत्तबहादुर मल्ल, चन्द्रबहादुर राना, देविका गहतराज तथा सदस्य–सचिवमा प्रविन तिमिल्सेना रहेका छन् । ज्येष्ठ नागरिकको भावनालाई बुझेर ज्येष्ठ नागरिकमैत्री रूपमा स्कुल सञ्चालनमा ध्यान दिनुपर्ने अध्यक्ष रेग्मीले बताए । ‘स्कुलभित्र गरिने व्यवहारमा ध्यान दिनुपर्नेछ,’ उनले भने, ‘दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याइने र पुराना संस्कार तथा संस्कृतिबारे छलफल गर्नुका साथै नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था मिलाइनेछ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully