चार महिनामा नेपाल एयरलाइन्सको आय ५ अर्ब ९६ करोड

यो आम्दानीमा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने ग्राउन्ड ह्यान्डलिङको आम्दानी समेटिएको छैन।

मंसिर २४, २०८२

सुरज कुँवर

Nepal Airlines' income reaches 5.96 billion crores in four months

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगमले यो वर्षको साउनदेखि कात्तिकसम्म यात्रु संख्या र आम्दानी दुवैमा स्थिर वृद्धि हासिल गरेको छ।

निगमको मार्केटिङ विभागले प्रकाशित गरेको तथ्यांक अनुसार, निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट साउनमा १ अर्ब ६ करोड, भदौमा १ अर्ब २९ करोड, असोजमा १ अर्ब ७८ करोड, कात्तिकमा १ अर्ब ८१ करोड गरी ५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानीमा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने ग्राउन्ड ह्यान्डलिङको आम्दानी समेटिएको छैन।

असोजदेखि कात्तिकसम्मको मासिक विवरण हेर्दा मनसुनपछिको हवाई यात्रा मागमा सुधार आएको संकेत देखिन्छ। निगमका अनुसार यात्रु ओहोरदोहोरमा मासिक रूपमा क्रमिक वृद्धि भइरहेको देखिन्छ। साउनमा ५१ हजार १ सय ४७, भदौमा ५० हजार ६ सय ७०, असोजमा ५५ हजार ५ सय ९९ र कात्तिकमा ५९ हजार ६ गरी २ लाख १६ हजार ४ सय २२ यात्रुलाई निगमले सेवा दिएको छ। कात्तिक महिनामा यात्रु संख्या उल्लेखनीय रूपमा वृद्धि हुनुमा चाडबाडको समय मुख्य कारण देखिन्छ।

निगमको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान अन्तर्राष्ट्रिय क्षेत्रको रहेको छ। कुल ५ अर्ब ९६ करोड रुपैयाँ आम्दानीमध्ये आन्तरिकतर्फ २ करोड २३ लाख रुपैयाँ रहेको छ। यो अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीको दाजोमा ०.३८ प्रतिशत मात्रै हो। निगमले गर्ने आम्दानीमा सर्वाधिक आम्दानी हुने रुटमा काठमाडौँ–नारिता, काठमाडौँ–दोहा, काठमाडौँ–दुबई, काठमाडौँ–क्वालालम्पुर र काठमाडौँ–दिल्ली प्रमुख छन्। कम आम्दानी हुने रुटमा भने मुम्बई, बैङलुरु र दमाम छन्।

निगमले हाल जापान, बैंकक, मलेसिया, हङकङ, दिल्ली, मुम्बई, बैङलुरु, दोहा, दुबई र साउदीको दमाममा उडान गर्दै आइरहेको छ। यी मार्गहरूमा निगमले मासिक कम्तीमा ५ करोडदेखि ३० करोडसम्म आम्दानी गरेको देखिन्छ। जसमा वैदेशिक रोजगारी तथा पर्यटक आवागमन प्रमुख कारक रहेको निगमको विश्लेषण छ।

सम्बन्धित समाचार

वायुसेवा निगममा अधिकारीको चारवर्षे कार्यकाल, उडानभन्दा विवाद धेरै

वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully