बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम, छोरीको जन्मदर्ता र आमाको मृत्यु दर्ता*

समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र आमा अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

The investigation committee formed into the Bardiya incident has begun work, registering the daughter's birth certificate and the mother's death.

What you should know

काठमाडौँ — नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ । 

समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अञ्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र मृतक अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ ।

'हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अञ्जुकी छोरीको जन्मदर्ता र उनको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ,' उनले भने, 'हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको  मृत्यु दर्ता र उनको छोरीको जन्मदर्ता (अन्जुको श्रीमान् अनिलको नामबाट) गरेका छौं ।' 

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको भन्दै उनले मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाए ।

समिति संयोजक सुरेश पन्थीको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेका थिए । समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको थियो । 

बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् । गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ ।

*यसअघि अञ्जुका बाबुको मृत्युदर्ता भएको उल्लेख भएकोमा सच्याइएको छ ।- सम्पादक 

कान्तिपुर

Link copied successfully