जेन–जी आन्दोलनका घाइतेलाई सरकारले जीवन निर्वाह भत्ता दिने

घाइतेहरूलाई अति गम्भीर, गम्भीर र मध्यममा वर्गीकरण गरेर भत्ता दिने व्यवस्थासहितको आन्दोलनमा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Government to provide living allowance to those injured in Gen-G protests

काठमाडौँ — सरकारले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ ।

घाइतेहरूलाई अति गम्भीर, गम्भीर र मध्यममा वर्गीकरण गरेर भत्ता दिने व्यवस्थासहितको आन्दोलनमा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

यो कार्यविधि लागू भएसँगै जेन–जी आन्दोलनका घाइतेले सहयोग पाउने प्रक्रिया अघि बढेको गृह मन्त्रालयका एक अधिकारीले बताए । मन्त्रालयका अधिकारीहरूका अनुसार, कार्यविधिले अति गम्भीर घाइतेलाई १८ हजार, गम्भीर घाइतेलाई ९ हजार र मध्यम घाइतेलाई ४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने व्यवस्था गरेको छ । घाइतेको वर्गीकरणको काम चलिरहेको छ । वर्गीकरणको काम सकिएपछि यो कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कान्तिपुरलाई बताए ।

स्वास्थ्य मन्त्रालयले संकलन गरेको विवरण अनुसार, जेन–जी आन्दोलनमा देशभर २ हजार ५२२ जना घाइते भएका थिए । बागमती प्रदेशमा १८७९, कोशीमा २२४, मधेशमा ५९, गण्डकीमा १३२, लुम्बिनीमा १२९, कर्णालीमा ३५, सुदूरपश्चिममा ६४ जना घाइते भएका थिए । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालबाट संकलन गरेको घाइतेको विवरण गृह मन्त्रालयसम्म पुगिसकेको छ । अब वर्गीकरणको आधारमा उनीहरूले भत्ता पाउनेछन् । 

कान्तिपुर

Link copied successfully