सरकार र जेन-जी बीचको सम्झौताले सानो मुस्कान ल्याएको छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्रीले आफूले अब देश युवाहरुले हाँकेको हेर्न चाहेको पनि बताइन् ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Agreement between government and Gen-G has brought a small smile: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेन-जी बीचमा भएको सम्झौताले एउटा सानो मुस्कान ल्याएको दाबी गरेकी छन् ।

जेन-जी र सरकारकाबीचमा सम्झौतामा हस्ताक्षर गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले अब देश युवाहरुले हाँकेको हेर्न चाहेको पनि बताइन् ।

‘हिजो ज्यान गुमाउनेहरु शहीद भएका छन् । जेन-जीका बीचमा राम्रो सहमति ड्राफ्ट बनेको र यो अरुले पनि अनुकरण गर्न सक्ने होस् भनेर हामीले पनि सहयोग गरेर तयार पारेका छौं,’ कार्कीले भनिन्, ‘हामीले यो अनुकरणनीय र अन्तर्राष्ट्रिय रुपमा स्वीकार हुने दस्तावेज बनोस् भनेर सूर्य ढुंगेलजस्ता विज्ञहरु तथा वरिष्ठ अधिवक्ता राजु चापागाईंको सहयोग लिएर साझा दस्तावेज बनाएर हस्ताक्षर गरेका छौं ।’ 

युवा शक्तिले यो देशमा उनीहरुको विचारअनुसार चलाउन भनेर यो सम्झौता गरेका दाबी प्रधानमन्त्री कार्कीले गरिन् । ‘हामी हाम्रो सन्तानको भविष्य हेर्न चाहन्छौं । २३ र २४ भदौमा जे भयो हामीलाई दुखित तुल्याएको छ । यो सम्झौताले एउटा सानो मुस्कान ल्याएको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘यो राजपत्रमा छापिन्छ । यो विगतमा माओवादी र अन्य आन्दोलनकारीका बीचमा भएको जस्तै डकुमेन्ट हुन्छ ।’ 

उनले आफू सरकारमा रहेकासम्म शहीदहरुका लागि गर्नुपर्ने काम गर्ने अनि घाइतेहरुका लागि पनि सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले  युवा मुलुकमै बसुन् अनि यो देश चलाउन् भन्ने इच्छा आफ्नो रहेको भन्दै यो एउटा डकुमेन्टबाट सबैको इच्छा नपुग्ने पनि दाबी गरिन् ।

सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेन-जीका तर्फबाट शहीद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully