सोमबारको मन्त्रिपरिषद्को बैठकले गत वर्ष चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — सरकारले पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
गत वर्ष चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेशको मृत्यु भएको थियो । दिवंगत पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।
यसअघि सरकारले रजकको श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।
बैठकले जेन–जी आन्दोलनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ समेत स्वीकृत गरेको छ । यस्तै, जेन–जी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
