सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका छन् ।
काठमाडौँ — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेबी सिंहको निधन भएको छ ।
सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लागेका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले बताए ।
सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपालको ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेलेका सिंहलाई उद्योगका अग्रणी व्यक्तिहरूमध्ये एकका रूपमा हेरिन्छ।
सोमबार सार्वजनिक गरेको शोक सन्देशमा बोर्डले सिंहको दूरदर्शी नेतृत्व र जिम्मेवार ट्रेकिङ प्रवर्द्धनमा उनले देखाएको निरन्तर प्रतिबद्धताको उच्च प्रशंसा गरेको छ। नेपालका हिमाली सम्पदाको संरक्षण र प्रवर्द्धनमा सिंहको महत्वपूर्ण योगदान रहेको बोर्डले उल्लेख गरेको छ।
साथै, बोर्डसहित विभिन्न पर्यटनका राष्ट्रिय संस्थाहरूसँगको उनको घनिष्ठ सहकार्यले नेपालको पर्यटन छवि र अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाएको उल्लेख गरेका छन् ।
बोर्डले सिंहलाई उद्योगका लागि मार्गदर्शक व्यक्तित्वको रूपमा स्मरण गर्दै उनको नेतृत्व, विनम्रता र सेवाप्रतिको समर्पणले नेपालको पर्यटन क्षेत्रलाई निरन्तर प्रेरणा दिएको बताएको छ।
