प्रधानमन्त्रीसँग वार्ता गरेर फर्केपछि दुर्गा प्रसाईंले भने : हाम्रा माग पूरा नभए चुनाव हुँदैन

प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको प्रसाईंको भनाइ छ

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

After returning from talks with the Prime Minister, Durga Prasai said: There will be no elections if our demands are not met.

काठमाडौँ — 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान' दुर्गा प्रसाईंले आफ्ना मागहरू प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुनेको बताउँदै कम्युनिस्टले बोक्नुपर्ने माग आफूले बोकेको बताएका छन् । आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र फागुन २१ मा चुनाव पनि नहुने उनले बताए ।

सिंहदरबारमा वार्तापछि पत्रकारहरूसँगको कुराकानीमा उनले यो व्यवस्था नै ठीक नभएको कुरा प्रधानमन्त्रीसँग राखेको बताए । 

'आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो । तपाईंका माग भनेका जनजीविकोपार्जनका माग हुन् । यी मागहरू कम्युनिस्टले बोकेर हिँड्ने माग हुन् । तर कम्युनिस्ट यही भर्‍याङ बनाएर अर्बौं रुपैयाँ कमाए । त्यो ठाउँमा म भए अहिले मुख्यसचिव बोलाएर भन्थेँ भनेँ । सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु । तपाईंहरूले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ,' उनले भने । 

उनले शिक्षामन्त्री महावीर पुनलाई आफूले अघि सारेको कर्जा मिनाहको कुरा थाहा नभएको उल्लेख गर्दै यो कुरा प्रधानमन्त्रीको विषय भएको पनि तर्क गरे । उनले २० लाखभन्दा मुनिको ऋण मिनाह गर्न आफू लागिपरकेो दाबी गरे । त्यसका लागि आफू नै सरकारमा हुनुपर्ने पनि उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully