आयोजक वातावरणीय कृषि तथा विकास केन्द्र (सीएइडी) की अध्यक्ष समिता प्रधानले सबै सरोकारवाला मिलेर लैगिंक हिंसालाई न्युनीकरण गर्न जरुरी रहेको बताइन्
What you should know
काठमाडौँ — प्रविधिमार्फत हुने लैंगिक हिंसा गम्भीर अपराधका रूपमा देखा परेकाले यसलाई न्युनीकरण गर्न राज्य र समाजले विशेष भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
‘प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसाको किशोरीहरुमाथि प्रभाव’ विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मिडिया एडभोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले प्रविधिको माध्यमबाट हुने हिंसा बढेको बताइन् । उनले यसलाई रोक्नका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक नयाँ कानुन तर्जुमा दुबै आवश्यक देखिएको बताइन् ।
‘हाम्रोमा अहिले जे जति कानुन छन् , त्यसलाई नै कार्यान्वयनमा ल्याइएको छैन । यसलाई कार्यान्वयनमा ल्याउँदा पनि प्रविधिको माध्यमबाट हुने हिंसालाई केही हदसम्म कम गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर समग्रमा यस समस्यालाई न्युनीकरण गर्न साइबर कानुन तर्जुमा गर्नुको विकल्प छैन ।’
सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्वल आचार्यले प्रविधिको माध्यमबाट हुने हिंसाका विषयमा समाजमा सचेतना फैलाउन पनि जरुरी रहेको बताए ।
‘कतिपय अवस्थामा प्रविधिको माध्यमबाट हिंसा भइरहेको पनि मानिसलाई थाहा हुँदैन । तर उसले भोगिरहेको हुन्छ,’ उनले भने,‘प्रविधिले हाम्रो समाजमा भइरहेका विकृतिहरुलाई थप बढावा दिएको छ । तर महिला हिंसा होस् वा अन्य हिंसा यो सबै प्रविधिकै उपज भने होइन । यो हाम्रो समाजभित्रै प्रवृत्ति हो र यसलाई कम गर्न हामी आफैं सक्रिय हुनुपर्छ ।’
विद्यमान कानुनमै टेकेर पनि प्रविधिको माध्यमबाट समाजमा घटिरहेका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न सकिने उनले बताए ।
‘ सबै कुरामा साइबर कानुन चाहिन्छ भन्ने होइन । धेरै कुराहरु अहिलेकै कानुनले पनि सम्बोधन गर्नसक्छ । जस्तो, यौन उत्पिडनमा कानुन छ , अब डिजिटल माध्यमबाट उत्पिडन गर्नेलाई यो कानुन आकर्षित नहुने भन्ने हुँदैन । तर राज्यले सक्रियता देखाउनुपर्यो ।’
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाजमा भैरहेका महिला हिंसाका घटनामा पत्रकारले विशेष रिपोर्टिंग गर्न आवश्यक रहेको बताए ।
‘ यस्ता घटनामा विभिन्न खोजी भइरहेका छन् । तर, त्यसमा आधारित रहेर जति समाचार बन्नुपर्ने थियो । त्यो बनेको देखिन्न । यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ । किनकी मिडयामा आएपछि मात्रै समाजमा नयाँ बहस सुरु हुन्छ ।’
आयोजक वातावरणीय कृषि तथा विकास केन्द्र (सीएइडी) की अध्यक्ष समिता प्रधानले सबै सरोकारवाला मिलेर लैगिंक हिंसालाई न्युनीकरण गर्न जरुरी रहेको बताइन् । यसमा मिडियाको भूमिका महत्वपूर्ण रहने उनले बताइन् ।
'यसको न्युनीकरणका लागि सामाजिक सचेतना जगाउन जरूरी हुन्छ र त्यसमा मिडियाको भूमिका सधैं महत्वपूर्ण रहन्छ,' उनले भनिन् ।
