‘अहिले नेपाली समाजमा हिंसा न्यूनीकरण भएको छैन, हिंसाको स्वरुप परिवर्तन भएर विद्यमान रहिरहेको छ,’ उनले भनिन्, ‘अदृश्य शक्तिले समाजको आवाजलाई बाहिर आउन दिएको छैन, महिलामाथिको अन्याय निरन्तर छ, यसलाई न्यूनीकरण गर्नका लागि अन्तरस्थितिसँग जोडिँदै जानुपर्छ ।’
What you should know
काठमाडौँ — सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने बताएकी छन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्, ‘प्रविधिसँग समाज जोड्नुपर्छ र परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ ।’
महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा न्यायाधीश प्रधानले समाजमा परम्परागत हिंसा कायमै रहेको बताइन् । उनले लघुताभाष र पितृसत्तात्मक सोचले समाजमा हिंसा कायमै रहेको बताइन् । ‘अहिले नेपाली समाजमा हिंसा न्यूनीकरण भएको छैन, हिंसाको स्वरुप परिवर्तन भएर विद्यमान रहिरहेको छ,’ उनले भनिन्, ‘अदृश्य शक्तिले समाजको आवाजलाई बाहिर आउन दिएको छैन, महिलामाथिको अन्याय निरन्तर छ, यसलाई न्यूनीकरण गर्नका लागि अन्तरस्थितिसँग जोडिँदै जानुपर्छ ।’
न्याय सम्पादनका क्रममा आफ्नो अनुभव सुनाउँदै न्यायाधीश प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित भएको मुद्दा आउने गरेको जानकारी दिइन् । समाजमा पुरुष पनि पीडित हुने गरेको तर उनीहरुको संख्या एक प्रतिशतभन्दा बढी नभएको उनले बताइन् ।
महिलाविरुद्ध हुने हिंसा घर, सार्वजनिक स्थल, कार्यस्थललगायत सबै ठाउँमा हुने गरेको उनले बताइन् । घरभित्र कानुन प्रवेश गर्छ भन्ने कुरा वैवाहिक हिंसा एउटा उदाहरण भएको प्रस्तुत गर्दै उनले भनिन्, ‘यौन हिंसा मात्र होइन, अधिकार पनि हो । यौनलाई अधिकारको रुपमा प्रयोग गर्न पुरुषप्रधान समाजको मनस्थिति पहिला परिवर्तन हुनुपर्छ ।’
‘सबै पुरुष हिंस्रक हुँदैनन्, पुरुषको पनि साथ लिएर अघि बढ्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउँछ’, ‘न्यायाधीश प्रधानले भनिन्, ‘महिला र पुरुषले सँगै उडान भर्ने हो भने र महिला हिंसाविरुद्ध संस्थागत प्रतिबद्धता जनाउने हो भने समाजमा व्याप्त हिंसालाई न्यूनीकरण गर्न सकिन्छ ।’
कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले महिला हिंसाविरुद्धको १६ दिने अभियान क्याम्पसले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको जानकारी दिइन् । उनले यस वर्ष भने फरक तरिकाबाट अभियान सञ्चालन गर्न नेपाल टुरिजम बोर्ड र एफडब्लुएलडीले साथ र सहयोग गरेको बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र अनुभवको परीक्षा हुने भएकाले महिला हिंसाविरुद्धको अभियान यो वर्ष नयाँ ढंगले सञ्चालन गरेको प्राध्यापक पौडेलले जानकारी दिइन् ।
भाष्कर तेजश्री मेमोरियल फाउनडेसनले महिला हिंसा र बालबालिकामा हुने गरेको हिंसाका बारेमा अध्ययन र अनुसन्धान गरिरहेको डा. रीता थापाले जानकारी दिइन् । उनले स्कुलमा बालबालिकामा ६६ प्रतिशत र २२ प्रतिशत शिक्षकबाट हिंसा हुने गरेको तथ्यांक प्रस्तुत गरिन् । लुम्बिनी प्रदेशमा गरिएको एउटा अध्ययनको तथ्यांक प्रस्तुत गर्दै थापाले भनिन, ७४ प्रतिशत महिलामा यौन दुर्व्यवहार हुने गरेको त्यसमध्ये पनि १० वर्षमुनिका ३१ प्रतिशत बालबालिकामा यौन हिंसा हुने गरेको छ ।’
कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थीले 'हिंसालाई शून्यमा झार्न सहयात्रा सुरु गरौं' नाटक प्रस्तुत गरेका थिए भने महिला हिंसाविरुद्ध बनाइएका विभिन्न कला प्रदर्शनी पनि गरिएको थियो। कार्यक्रमको अन्त्यमा हिंसाविरुद्ध प्यानल डिस्कसन भएको थियो । छलफलमा महिला आयोगकी विद्याकुमार सिन्हा, मानवअधिकारवादी रेणु राजभण्डारी र एफडब्लूएलडीका अधिवक्ता सुष्मा गौतम सहभागी थिए ।
छलफलमा अधिवक्ता सुष्मा गौतमले महिलाहरूलाई आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने र त्यसका लागि महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्न पर्नेमा जोड दिइन् । भएका कानुन कार्यान्वयन गर्न सके पनि हालको अवस्थामा केही परिवर्तन देखिने बताउँदै उनले भनिन्, 'हामीले लामो समय कानुन ल्याउनमा खर्च गरेका छौँ र अबको काम भनेको भएका कानुन व्यवहारमा चरितार्थ गर्नु हो ।'
