'छानबिन समिति गठन भएपछि न्याय पाउने आशा पलायो'

सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयद्वारा समिति गठन भएपछि बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी फुलानी थारूको परिवारलाई न्याय पाउने आशा जागेको छ ।

मंसिर २१, २०८२

रामप्रसाद चौहान 

'Hope for justice has risen after the formation of the investigation committee'

What you should know

बर्दिया — घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन भएपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको छ । सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयद्वारा समिति गठन भएपछि बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी फुलानी थारूको परिवारलाई न्याय पाउने आशा जागेको छ ।

गत कात्तिकमा छोरी र पति गुमाएर दोहोरो शोकमा रहेकी फुलानी थारूले न्याय पाउने आशा पलाएको बताइन् । ‘घटना घटेको करिब एक महिना बित्न थाल्यो,तर सम्बन्धित निकायले खासै चासो नदेखाउँदा घटना दबिन्छ कि भन्ने डर थियो,’फुलानी थारूले भनिन्,’‘अब हाम्रो घटना प्रधानमन्त्रीसमक्ष पुगेपछि न्याय पाउने आशा गरेको छु ।’

बहिनी नागरिकताका लागि धेरै पटक वडामा धाउँदासमेत सम्बन्धित निकायले सहजीकरण नगरिदिँदा यस्तो घटना भएको अञ्जुका दाइ अरुण थारूले बताए । ‘पहिचान नपाएकै कारण बहिनीले आत्महत्या गर्ने निर्णयमा पुगिन्,’उनले भने,‘अञ्जुकी सात वर्षीया छोरी अनिता थारूको जन्मदर्ता छैन, उसको सम्पूर्ण जिम्मेवारी हाम्रै काँधमा आएको छ, सम्बन्धित निकायले भान्जीको जन्मदर्ता र उसले पाउनुपर्ने हक अधिकार दिलाउनुपर्‍यो ।’ ‘गृह मन्त्रालयबाट गठन भएको छानबिन समितिले सत्यतथ्य छानबिन गरेर हामीलाई न्याय दिलाउने विश्वास गरेको छु,’उनले भने ।

घटनापश्चात जाहेरी आएको र प्रहरीले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘मन्त्रालयद्वारा छानबिन समिति गठन भएको छ,’प्रजिअ हमालले भने,‘घटनाको थप अनुसन्धान गठन भएको छानबिन समितिले गर्नेछ ।’

गत शुक्रबार ‘महिलामाथि नागरिकताको विभेदःराज्यले दिएन न्याय, बाबु–छोरीले दिएन ज्यान’शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि शनिबार प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको थियो । प्रधानमन्त्री कार्कीले घटनाको सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ । बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि आत्महत्या गरेका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully