[Breaking] पोखरा विमानस्थलमा 'घोटाला' : ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी(दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।

मंसिर २१, २०८२

मातृका दाहाल

[Breaking] 'Scam' at Pokhara Airport: Corruption case against 55 people, including 5 former ministers and 10 former secretaries

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । अख्तियारको टोली अभियोगपत्र लिएर केही बेरअघि विशेष अदालत पुगिसकेको छ । पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी(दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।  

अख्तियार स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् । सर्वोच्च अदालतका पूर्वरजिस्ट्रासमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।  

पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत  २०८२ वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिले प्रतिवेदन बुझाएको ७ महिनापछि अख्तियारले आइतबार अनुसन्धान टुंग्याउने विशेष अदालतमा मुद्दा लगेको हो । 

सम्बन्धित समाचार

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully