एनसेल फाउन्डेसनले एनपीएलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

बिहीबार (मंसिर १८)सम्म खेलिएका खेलमा ९० खेलाडीले ५१० चौका प्रहार गरेका छन्।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

Ncell Foundation to distribute over 2,000 educational materials for NPL Chowka

What you should know

काठमाडौँ — एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का खेलमा प्रहार भएका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।

‘क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग’ जोड्ने सामाजिक पहलअन्तर्गत ती सामग्री सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइनेछन्।

गत वर्ष एनपीएलसँगको सहकार्यमा थालिएको यो अभियानले निरन्तर सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको फाउन्डेसनले जनाएको छ। सिजन–२ का प्रत्येक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता यस वर्ष पनि दोहोरिएको छ।

बिहीबार (मंसिर १८)सम्म खेलिएका खेलमा ९० खेलाडीले ५१० चौका प्रहार गरेका छन्। सोअनुसार २ हजार ४० शैक्षिक सामग्री वितरण हुने पक्का भएको छ। चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीमध्ये पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अग्रस्थानमा छन्।

उनले मात्र १०८ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्। लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहँदा ७६ सामग्री योगदान गरेका छन्। काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले १७–१७ चौका प्रहार गर्दै तेस्रो स्थान साझा गरेका छन्। दुवैले ६८–६८ सामग्री प्रदान हुने सुनिश्चित गरेका छन्।

फाउन्डेसनका अनुसार प्रत्येक किटमा झोला, कापी, पेन्सिल, शार्पनर, इरेजरलगायत सामग्री रहने छन्। यी सामग्रीले विद्यार्थीको सिकाइका लागि आवश्यक स्रोत अभाव घटाउने तथा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

गत वर्ष एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट २ हजार ६१२ सामग्री योगदान गर्ने प्रतिवद्धता गरिएको थियो। सोही अभियानमा समग्रमा ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ।

यस्तो सामग्री वितरण यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह तथा साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ।

कान्तिपुर

Link copied successfully