गत बुधबार १० जना उच्चपदस्थ अधिकारीलाई धम्कीयुक्त इमेल पठाइएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले थप अनुसन्धान गर्न काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
What you should know
काठमाडौँ — ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को सदस्य भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईदेखि पूर्व गृहमन्त्री र पूर्व प्रहरी महानिरीक्षकसहित १० जनालाई इमेलमार्फत धम्की दिएको घटनामा प्रहरीले तीनजनासँग सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीका अनुसार तीनै जनाको शंकास्पद भूमिका देखिएपछि बयान बुझ्ने काम भइरहेको छ। उनले अहिले नै यसबारे केही बताउन हतार हुने बताए।
गत बुधबार १० जना उच्चपदस्थ अधिकारीलाई धम्कीयुक्त इमेल पठाइएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी कार्यालयलाई पत्राचार गरी थप अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिहरूको निवास र गतिविधि हुने स्थानमा निगरानी बढाउन निर्देशन दिएको थियो।
सुरक्षा स्रोतका अनुसार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्की, आयल निगमका पूर्व प्रमुख गोपाल खड्कासहितका व्यक्तिलाई धम्कीयुक्त इमेल पुगेको थियो।
प्रहरीका अनुसार ‘प्रकाश पाठक’ नाम प्रयोग गर्ने व्यक्तिले उक्त इमेल पठाएको भए पनि कहाँबाट पठाइएको हो भन्ने कानुनी निष्कर्षमा प्रहरी पुग्न सकेको छैन। ती व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको सूचना पाएपछि प्रहरीले भीपीएन प्रयोग गरेर इमेल गरिएको हुनसक्ने आकलन गरेको छ। यो घटनामा प्रहरीको साइबर व्युरोले पनि थप अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘लोकेसन भारत देखिएको भए पनि ती व्यक्ति त्यहीँ नहुन सक्छन्।’ सो व्यक्तिले आफू भारतमा रहेको र आफूलाई कसैले समात्न नसक्ने दाबीसबन्धी कुरा केही व्यक्तिसँग गरेको जानकारी पनि प्रहरीले संकलन गरेको छ।
