अतिवादी समूहका नाममा भीआईपीविरुद्ध पत्र आएपछि उपत्यकामा सतर्कता

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले १० जना भीआईपीविरुद्ध आएको पत्रलाई आधार बनाएर सतर्कता बढाउन मातहतको निकायलाई निर्देशन दिएको हो ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Alert in the Valley after a letter against VIPs in the name of an extremist group was received.

What you should know

काठमाडौँ — अतिवादी समूहका नाममा एउटा अज्ञात पत्र सरकारी संयन्त्रमा प्रेषित भएपछि प्रहरीले सतर्कता बढाएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले १० जना भीआईपीविरुद्ध आएको पत्रलाई आधार बनाएर सतर्कता बढाउन मातहतको निकायलाई निर्देशन दिएको हो ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको हस्ताक्षर रहेको पत्रमा अख्तियारका प्रमुख आयुक्त, पूर्वप्रमुख आयुक्तदेखि आयल नियमका पूर्वप्रमुख, पूर्वगृहमन्त्रीहरू, पूर्वआईजीपीसहित १० जनाको नाम उल्लेख गरिएको भन्दै उनीहरूको निवास, भ्रमण मार्ग र कार्यक्रमस्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन भनिएको छ ।

‘त्यस्ता अन्य कथित उग्रवादी समूहको गतिविधिबारे खबर संकलन गरी त्यहाा तथा मातहत प्रहरी कार्यालयअन्तर्गत बसोबास गर्ने अन्य विशिष्ट व्यक्तिहरूको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु हुन अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।

यो पत्रमा उल्लेख भएअनुसार, प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत सुरक्षा सेवा व्यवस्थापन महाशाखाले पठाएको पत्रका आधारमा यो निर्देशन जारी गरिएको हो । यो पत्रका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशलकुमार बुढाथोकीले सम्बन्धित भीआईपीहरूको क्षेत्रअन्तर्गत रहेका प्रहरी इकाईलाई सम्बन्धित व्यक्तिहरूसँग आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउन भन्दै मातहतका निकायलाई पत्र लेखेका छन् ।

‘त्यस्ता किसिमका गतिविधि हुन नदिन तीव्र रूपमा गस्ती, पट्रोलिङ, खबर संकलनलगायत सादा पोसाकमा समेत प्रहरी परिचालन गरी गोप्य रूपमा सूचना सम्प्रेषण गर्ने र त्यहाँ कार्यालय वडा एरियाअन्तर्गत बसोबास गर्ने अन्य विशिष्ट व्यक्तिहरुको पनि भरपर्दो व्यवस्था मिलाउन निर्देशानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने त्यस किसिमको पत्र आएपछि सामान्य रूपमा लिन नमिल्ने भएकाले सतर्कता अपनाइएको बताए । ‘कसले पठाएको हो, किन पठाएको हो भन्ने विषयमा छुट्टै जाँच भइरहेको छ,’ उनले भने, ‘अहिलेलाई कुनै किसिमका अप्रिय गतिविधि नहोस् भनेर सतर्कता अपनाएका हौं ।’

कान्तिपुर

Link copied successfully