हेटौंडामा सडक विस्तारका लागि भत्काउने कार्य नगर्नू भन्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश 

पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी रास्वपाकी सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म भत्काउने सम्बन्धी कुनै पनि गतिविधि र सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको हो ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Supreme Court issues short-term interim order prohibiting demolition for road expansion in Hetauda

काठमाडौँ — सर्वोच्च अदालतले सडक विस्तारका लागि हेटौंडाको बजार भत्काउने सरकारको तयारीसम्बन्धी सूचना केही दिन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म भत्काउने सम्बन्धी कुनै पनि गतिविधि र सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको हो । सडक डिभिजन कार्यालय हेटौंडाले आजसम्मको अन्तिम म्याद दिँदै सूचना जारी गरेको थियो ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि २६ मंसिरमा बोलाएको छ । 

‘प्रस्तुत विषय दुवै पक्षको छलफल भई अन्तरिम आदेश जारी हुने/नहुने विषय टुंगो नलागेसम्म प्रत्यर्थी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन हेटौंडा, मकवानपुरको मिति २०८२/०८/०५/ को सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु,’ आदेशमा भनिएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम शुक्रबार सकिँदै थियो । सडक डिभिजनले शनिबार अर्थात् २० मंसिरबाट सडक सीमाभित्र निर्मित घरटहरालगायतका संरचना हटाउने तयारी थालेको अवस्थामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

सर्वोच्चको आदेशसँगै सडक विस्तार कार्य अब अर्को सुनुवाइ नभएसम्मका लागि अन्योलमा परेको छ । लामो समय यो विवाद सर्वोच्च अदालतमा घुमेर टुंगिएको थियो । 

सर्वोच्चले विगतमै मुआब्जा दिएका र दिनुपर्ने भए उचित व्यवस्थापन गरी भत्काउनु भनी फैसला सुनाएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully