गोरखाबाट चितवन कारागार सरेपछि बुद्धिराम दराई र कारागारका सुरक्षाकर्मी सीता कँडेलबीच भेट भएको थियो । दराई बिरामी भएका बेला कुरुवा बसेकी कँडेल उनीसँग नजिक भएकी थिइन् ।
What you should know
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-२, भकुण्डेमा पूर्व प्रहरी हवल्दार ४६ वर्षीया सीता कँडेलको हत्या गरी फरार प्रतिवादीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । चितवनको साविक बछौली गाविस-१ (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराईलाई भारतबाट नेपाल आउँदै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले दराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले सीमावर्ती क्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१, बेलहिया सडकखण्डबाट बिहीबार पक्राउ गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पक्राउ परेका दराईलाई सार्वजनिक गरेको छ । उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा शुक्रबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
कँडेलको हत्यापछि दराई फरार भएकोमा लमजुङ जिल्ला अदालतले २०८२ वैशाख १५ मा उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अनुसन्धानका क्रममा उनी यसबीचमा नयाँदिल्लीमा सुरक्षा गार्डमा कार्यरत रहेको समेत खुलेको प्रहरीले जनाएको छ ।
गत चैत ३१ गते दिउँसो कँडेलको घरबाट दुर्गन्ध फैलिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । बाहिरबाट ताल्चा लगाइएको घरभित्र प्रवेश गर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा शव भेटिएको थियो ।
दराईविरुद्ध २०६७ मंसिर १२ गते गोरखाको साविक फिनाम गाविस-५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या अभियोगमा २०६८ असार २० गते गोरखा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले २०७१ चैत १३ गते १२ वर्षको कैद फैसला गरेकोमा दराई २०७६ असोज ३ गते धादिङ कारागारबाट छुटेका थिए ।
प्रहरीका अनुसार गोरखाबाट चितवन कारागार सरेपछि दराई र कारागारका सुरक्षाकर्मी कँडेलबीच भेट भएको थियो । दराई बिरामी भएको बेला कुरुवा बसेकी कँडेल नजिक भएकी थिइन् । कँडेल सेवाबाट निस्किएपछि दराईलाई लमजुङ कारागारसमेत सारिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार दराई र कँडेलबीच आर्थिक लेनदेनको विषय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूबीचको थप सम्बन्ध अनुसन्धापछि खुल्दै जाने उनले बताए । ‘थप अनुसन्धानका लागि म्याद थप भएको छ, हामीले अनुसन्धान थालेका छौं,’ उनले भने ।
२०८१ चैत १२ गते दराई कँडेलको दाइको घरमा आएर बसेपछि चितवन-लमजुङ गरिरहेका थिए । चैत २६ गते बिहान कँडेलको हत्यापछि दराई बेंसीसहर आएको र त्यसको भोलिपल्ट डुम्रेतर्फ गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसपछि दराई वैशाख २ गते राति चितवनको आँपटारी हुँदै भारत गएका थिए ।
