काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराई भन्छन् : यो विशुद्ध लुटपाट गर्ने उद्देश्यले भए जस्तो देखिन्छ
काठमाडौँ — भ्रमणका लागि काठमाडौं आएका एक जना इजरायली नागरिक कुटपिटमा परेका परेका छन् । काठमाडौं–१६, कालधारा चोकमा २५ वर्षीय अल्मोग आर्मोजा कुटपिटमा परेको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
‘उनी त्यही रहेको एउटा होस्टेलमा बस्ने रहेछन्, गएको सोमबार राति १० बजेतिर अपरिचित व्यक्तिले कुटेको देखिन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘त्यसबेलाको सीसीटीभी फुटेजसमेत हेरेर अनुसन्धान गरिरहेका छौं ।’
नेपालमा ट्रेकिङका लागि आएको इजरायली नागरिक कुटिएपछि जेरुसेलमका सञ्चारमाध्यमहरुले ‘इजरायली नगारिक भएकै कारण कुटिएको’ भन्दै समाचार लेखेका छन् । उनले जेरुसेलम पोस्टसँग भनेका छन्, ‘आक्रमणकारीले मलाई हिब्रु भाषमा बोलेको सुनिरहेका थिए, उनीहरूको पहिलो प्रहारले नै मलाई बेहोस बनाएको भए परिणाम फरक हुनसक्थ्यो ।’ यदि आफू भाग्न नसकेको भए ज्यान बच्छ, बच्दैन ठेगान नभएको समेत उनले भनेका छन् ।
तर, काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराई चाहिँ यो विषय इजरायली नागरिकको राष्ट्रियतासँग नजोडिएको बताउँछन् । ‘यो विशुद्ध लुटपाट गर्ने उद्देश्यले भए जस्तो देखिन्छ,’ उनले भने, ‘कुटपिट गर्नेको समेत पहिचान भइसकेको छ, खोजतलास गरिरहेका छौं ।’
उनका अनुसार, कुटिएलगत्तै उनी सुरुमा नयाँबजारस्थित पिपुल्स अस्पताल र पछि मैतिदेवीस्थित स्वेग अस्पतालमा भर्ना भएका थिए । अहिले उनी डिस्चार्ज भइसकेका छन् भने निधारमा सामान्य चोट रहेको भट्टराईको भनाइ छ ।
