किन पक्राउ परे गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य ?

प्रहरीले उच्च अदालत, पाटनबाट उनलाई हिरासतमा राख्न बुधबार नै अनुमतिसमेत लिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शाक्यले बैंकबाट १५ करोड रुपैयाँ ऋण प्रक्रिया नै पूरा नगरी लगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मंसिर १७, २०८२

गौरव पोखरेल

Why was Guna Group Chairman Rajendra Shakya arrested?

What you should know

काठमाडौँ — प्रभु बैंक लिमिटेडबाट प्रवाह भएको ऋण अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरीले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गर्‍यो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न उनलाई ललितपुरको जावलाखेल, भनिमण्डलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

प्रहरीले उच्च अदालत, पाटनबाट उनलाई हिरासतमा राख्न बुधबार नै अनुमतिसमेत लिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शाक्यले बैंकबाट १५ करोड रुपैयाँ ऋण प्रक्रिया नै पूरा नगरी लगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘बैंकले त्यो रकम शाक्यले सञ्चालन गरेको गुण समूहअन्तर्गतको गुण सिनेमालाई दिएको पाइएको छ,’ एक अधिकृतले भने, ‘त्यो पैसा पछि शाक्यले लाजिम्पाट अपार्टमेन्ट खरिद र अर्को कम्पनीमा लगेको पाइएको छ ।’ बाँकी बैंकको २७ करोड रुपैयाँ लिएर आफ्नो ऋण व्यवस्थापन गरेको समेत पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

‘लेयरिङ गरिएको कम्पनीमध्ये एउटा अस्तित्वमै नभएको जस्तो पनि देखिएको छ, त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘उहाँसँग बयानसमेत लिएर विस्तृत अनुसन्धान गर्छौं ।’

प्रहरीको दाबीमा, प्रारम्भिक सोधपुछमा शाक्यले समेत ऋणमा गडबडी भएको स्वीकारेका छन् । ‘सीईओसहितका अधिकारीहरुले भनेअनुसार, गरेको भन्ने उहाँको भनाइ छ,’ एक अनुसन्धान अधिकृतले भने ।  

प्रहरीले आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

‘सुरुमा देशका विभिन्न सहकारीलाई रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तानी नगरी करोडौं ठगी गरिएको विषयमा प्रभु म्यानेजमेन्टका देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहितमाथि अनुसन्धान गरिरहेका थियौं, त्यसबाट सीईओसहितको संलग्नता खुलेको थियो,’ ब्युरोका एक अधिकृतले भने, ‘पछि बैंकबाट प्रवाह भएको ऋणमा समेत ठूलो समस्या देखिएपछि बेग्लै छानबिन भएको थियो ।’त्यसपछि व्यवसायी शाक्यसमेत पक्राउ परेका हुन् ।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यावसायिक भवनलगायतका क्षेत्रमा लगानी गरिरहेको समूहको वेबसाइटमा उल्लेख छ ।

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully