सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार ठगी तथा राष्ट्र बैंक ऐनविपरीत काम गरेको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
What you should know
काठमाडौँ — रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यही मामिलामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पनि पक्राउ गरिएको छ । तर उनीहरूलाई अभियुक्त नबनाइए पनि थुनामुक्त गरिएको छैन ।
प्रभु रेमिटमार्फत विदेशबाट नेपाल आउने रकम गाउँ–गाउँमा भुक्तान गर्न प्रभु म्यानेजमेन्टले जिम्मा लिएको र उक्त कम्पनीले पनि सहकारीमार्फत भुक्तान हुने गरी छुट्टै सम्झौता गरेको प्रहरीको दाबी छ ।
रेमिट्यान्स कम्पनीले राष्ट्र बैंकको नियमविपरीत प्रभु म्यानेजमेन्टका नाममा अर्को तह खडा गरेको, उक्त कम्पनीले पनि भुक्तानीका लागि सहकारीहरूसँग सम्झौता गरी धरौटीसमेत लिएको, तर सहकारीले भुक्तान गरेको रेमिट्यान्स बापतको रकम र धरौटीसमेत फिर्ता नदिएर ठगी गरेकाले मुद्दा चलाइएको अभियोग पत्रमा उल्लेख छ ।
प्रहरीसँग दिएको बयानमा लामाले प्रभु म्यानेजमेन्टले १ हजार १ सय ३ सहकारीको विप्रेषणबापतको रकम र एजेन्ट सहकारीले अग्रिम भुक्तानी दिएको रकमसमेत गरी ५० करोड १० लाख ६१ हजार ५५५ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको भनेकी छन् ।
प्रभु म्यानेजमेन्टको प्रणालीबाट संकलित विवरणमा सहकारीहरूलाई १ अर्ब ८८ करोड ३४ लाख ८१ हजार ९७६ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको देखिएको प्रहरीको दाबी छ । तर, उजुरी भने ६ करोड ५२ लाख बराबरको मात्र आएकाले त्यसैलाई बिगो बनाइएको प्रहरीको भनाइ छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार ३८ सहकारीले यो बराबरको रकम दाबी गर्दै उजुरी दिएका हुन् ।
सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार ठगी तथा राष्ट्र बैंक ऐनविपरीत काम गरेको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रभु म्यानेजमेन्टकी सञ्चालक कुसुम लामा, पूर्वसांसदसमेत रहेका भट्टचनसहित कर्मचारीहरू हेमकुमार महाजु, रामेश्वर सापकोटा, श्रुतिका तामाङ लामा, सन्तोषकुमार लामा, प्रभु मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको मंगलबारको इजलासले म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने पूर्वसेयरधनी रामबाबुप्रसाद जयसवाललाई ७ लाख रुपैयाँ धरौटी मागेको सीआईबीका प्रमुख एआईजी मनोज केसीले बताए ।
मलेसिया र खाडी मुलुकमा रोजगारीका लागि गएका नेपालीलाई स्वदेशमा पैसा पठाउने सुविधा दिने गरी भट्टचनले २०५९ सालमा प्रभु मनी ट्रान्सफर स्थापना गरेका थिए । यसको १० वर्षपछि भट्टचन, कुसुमसमेत सञ्चालक रहेर प्रभु म्यानेजमेन्ट स्थापना भएको थियो । प्रभु मनी ट्रान्सफरमार्फत आउने रेमिट्यान्सको कारोबार सञ्चालनका लागि सुपर एजेन्टका रूपमा काम गर्न यो कम्पनी खडा गरिएको थियो । विगतमा भट्टचनसमेत यस कम्पनीमा संलग्न भए पनि ७ भदौ २०८१ देखि कुसुमको एकल स्वामित्व छ ।
सुरुमा भट्टचनविरुद्ध उजुरी दिने लामा अहिले फरार छिन् भने प्रहरीले भट्टचनलाई पक्राउ गरी १५ दिन हिरासतमा राखेकोमा अनुसन्धानका लागि थुनामा राख्न नपर्ने भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले उनलाई हाजिरी जमानीमा थुनामुक्त गरेको थियो ।
‘१ पुस २०६९ मा दुई कम्पनीबीच सम्झौता गर्दा विदेशमा रहेका श्रमिकले बैंकिङ प्रणालीमार्फत नेपालमा आफन्तहरूलाई भुक्तानी गर्ने गरी पठाएको रकम सम्बन्धित स्थानहरूमा सहकारी संस्थामार्फत पठाउने तथा पाउने गरी कार्य गर्न प्रभु म्यानेजमेन्टलाई प्रतिनिधि नियुक्त गरी त्यसको कार्य गर्ने उद्देश्य रहेको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ ।
प्रहरीका अनुसार, सहकारीबाट संकलन भएको रकमले म्यानेजमेन्टको सेयर पुँजी बढाउने, कम्पनीको सेयर खरिदका लागि श्रुतिका (तामाङ) लामालाई पेस्कीस्वरूप उपलब्ध गराउने काम पनि भएको छ । ‘पेस्कीबाट भट्टचनकी छोरी शिक्षा भट्टचनका नाममा सेयर खरिद गर्न लगाउने र पछि सो सेयर लामाबाट कुसुमले आफ्नो नाममा कायम गर्ने जस्ता कार्य देखिएको छ,’ प्रहरी प्रतिवेदनमा भनिएको छ ।
भट्टचनले कम्पनीलाई आफूअनुकूल सञ्चालन गरेर व्यक्तिगत लाभ लिन कर्मचारी शिव शर्मा आचार्य, ध्रुवचन्द्र धिताल, दक्ष पौडेल सुभाष, गणेशकुमार घिमिरे, हेमकुमार महाजु, नारायण ढकाल र श्रुतिका तामाङ लामासमेतका नाममा सेयर कायम गरेको पाइएको प्रहरीको भनाइ छ ।
भट्टचन आफूले आफैंलाई प्रभु मनी ट्रान्सफरको ‘अल अफिस म्याटर’ हेर्ने जिम्मेवारी तोकेर प्रभु म्यानेजमेन्टसँग सम्झौता गरेको समेत प्रहरीले भनेको छ । ‘प्रभु मनी ट्रान्सफरको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था विपरीत विभिन्न कम्पनीलाई कर्जा दिने, प्रभु म्यानेजमेन्टलाई कर्जा दिएको भनी ठूलो रकम ब्याज असुली गर्ने, प्रभु म्यानेजमेन्टबाट पेस्कीस्वरूप रकम लिएर भट्टचनले हालसम्म पनि फिर्ता नगरेको देखिएको छ,’ प्रहरीले भनेको छ, ‘भट्टचनले प्रभु म्यानेजमेन्ट छाडिसकेपछि पनि प्रभु म्यानेजमेन्टको खाताबाट उनले १३ करोड ८ लाख ९० हजार रुपैयाँ लिएको बैंक स्टेटमेन्टबाट देखिएको छ ।’
प्रहरीले यो घटनालाई कुनै दुई वटा कम्पनी र फर्मबीचको हिसाब मिलानको विषय मात्र नभई विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने, भुक्तानी गर्ने, त्यसको हिसाब मिलान गर्ने, राष्ट्र बैंकबाट जारी नीति, निर्देशन पालनासमेतका विषय भएकाले यो देवानी दायित्व जस्तो हिसाब मिलानका विषय मात्र नभएको समेत भनेको छ । बरु यसलाई आपराधिक लाभ लिने तथा ठगी गर्ने उद्देश्यका साथ ‘प्रि–फन्डिङ’ नगरी गरिएको ठगी भएको भनेको छ ।
