कालेबुङका साहित्यकार क्षेत्रीको निधन

कालेबुङ सातमाइल निवासी क्षेत्री विगत ६ महिनादेखि कलेजोको क्यान्सरसंग संघर्षरत थिए।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Kalimpong-based litterateur Chhetri passes away

विराटनगर — भारतीय नेपाली साहित्यका सशक्त समालोचक तथा वरिष्ठ शिक्षक शरदकुमार क्षेत्रीको ५९ वर्षको उमेरमा बुधवार बिहान कालेबुङमा निधन भएको छ । 

कालेबुङ सातमाइल निवासी क्षेत्री विगत ६ महिनादेखि कलेजोको क्यान्सरसंग संघर्षरत थिए। यही संघर्षका क्रममा बुधवार बिहान उनले अन्तिम श्वास लिएका हुन् । उनको निधनले त्यो भेगको शिक्षा तथा साहित्य क्षेत्र शोकमग्न बनेको उनका निकट साहित्यकार डा.सुकराज दियालीले जनाए ।

सिलिगुडीथित नेपाली कल्याण उच्च माध्यमिक विद्यालयमा ३६ वर्षभन्दा बढी समयदेखि भौतिक विज्ञान अध्यापन गराउँदै आएका क्षेत्री उत्कृष्ट शिक्षाविद् र अनुकरणीय व्यक्तित्वका रूपमा चिनिन्थे ।  तार्किक क्षमता, सरल स्वभाव र अध्यापनमा उनको समर्पणका कारण उनी सवैका प्यारा शिक्षक थिए । 

शिक्षणसँगै साहित्य सृजनामा पनि उतिकै सक्रिय रहेका क्षेत्री नेपाली समालोचना विधामा स्थापित नाम मानिन्थे ।  उनको ‘प्रतिक्रिया’ नामक समालोचना–संग्रह चर्चित मानिन्छ । एक हाइकु समेत प्रकाशित छ । उनी लामो कविता लेखनमा चिनिएका कवि हुन् । लामो कविता–संग्रह प्रकाशन धोको भने पुरा हुन पाएन । 

उनको निधनले नेपाली साहित्यले एक जना सक्षम समालोचक तथा संवेदनशील कवि गुमाएको प्रा. तेजमान बराइलीले  जनाए । उनका श्रीमती र एक छोरी छन् । उनको बुधवारै कालेबुङमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully