प्रेस काउन्सिलको अध्यक्ष बनेका आचार्य को हुन् ?

उनी यसअघि नेपाल मेलमिलाप परिषद्‍मा विज्ञ सदस्यका रूपमा करिब ३ वर्ष कार्यरत थिए ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Who is Acharya who became the chairman of the Press Council?

What you should know

काठमाडौँ — सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई काउन्सिलको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि नेपाल मेलमिलाप परिषद्‍मा विज्ञ सदस्यका रूपमा करिब ३ वर्ष कार्यरत थिए ।

अध्यक्षमा नियुक्त भएका आचार्य वरिष्ठ अघिवक्ता हुन् । आचार्यको नियुक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । तर प्रेस काउन्सिल ऐन-२०४८ अनुसार प्रेस काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता हुन पाउने छन् । ऐनले पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट छनोट गर्न सक्ने व्यवस्था छ । 

प्रेस काउन्सिललको अध्यक्षमा वरिष्ठ अधिवक्ता नियुक्त भएको यो पहिलो पटक होइन यसअघि २०६९ मा बोर्णबहादुर कार्की अध्यक्ष भएका थिए । 

को हुन् आचार्य ?

दाङमा जन्मिएका आचार्य २०४० सालमा अधिवक्ता भएका थिए । त्यस्तै उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए । २०५१ सालमा नेपाल बार काउन्सिलको कार्यकारी समितिमा रहेका आचार्यले २०६० सालको कार्यसमितिमा उपाध्यक्ष रहेर पनि काम गरे । 

लामो समय नेपालगन्जलाई कर्मथलो बनाएर काम गरेका उनी हाल पूर्णकालीन वकालत पेसामा आबद्ध छन् । आचार्य हाल ए.एच.एन. लिगलका सक्रिय वरिष्ठ साझेदारका रूपमा कार्यरत छन् । चार दशकदेखि वकालत पेसामा सक्रिय आचार्यसँग मेलमिलाप परिषद्‍मा कार्य गरेको अनुभव छ । 

त्यस्तै आचार्यले यूएसएड, द एसिया फाउन्डेसन, यूएनडीपी, नेपाल सरकार र नेसनल बिजनेस इनिसिएटिभलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूमा परामर्शदाताका रूपमा काम गरेका छन् ।

कान्तिपुर

Link copied successfully