जेन-जीका कारण र रहरले राजनीतिमा आएका हैनौं : गलोपा संस्थापक बस्नेत 

वीरेन्द्र बस्नेतले भने - 'मैले मेरो घरको चुल्हो बाल्नका लागि राजनीतिमा आएको होइन ।'

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

We did not enter politics because of Gen-G or desire: Galopa founder Basnet

काठमाडौँ — व्यवसायी तथा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का संस्थापक तथा केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले जेन-जी आन्दोलनको कारण र रहरले आफू राजनीतिमा नआएको बताएका छन् ।

भावी पुस्ताको सुख र समृद्धिका लागि राजनीतिक दल खोलेको भन्दै उनले आफ्नो घरको चुल्हो बाल्नका लागि राजनीतिमा नआएको बताए । 

पोखराको पर्यटनका सम्बन्धमा छलफल गर्न गलोपाले कास्कीको पोखरामा मंगलबार आयोजित कार्यक्रममा बस्नेतले मुलुकको आर्थिक उन्नतिका लागि पार्टी गठन गरेर अगाडि आएको बताएका हुन् । 'जेन-जीका कारण हामी राजनीतिमा आएका होइनौं । रहरले पनि राजनीतिमा आएका हैनौं,' बस्नेतले भने, 'जेन-जी आन्दोलनमा ४५ जना किन सहिद भए भन्ने बुझौं । जेन-जीको सहादत बिर्सिने बेला भइसक्यो । अब राजनीति सुरु भइसकेको छ ।'

अहिले राजनीतिक पार्टीहरूबीच जेन-जीको बलिदान बिर्सिएर राजनीति गर्न थालिएको बस्नेतको भनाइ छ । नयाँ र पुराना राजनीति मिल्नुपर्‍यो, गठबन्धन गर्नुपर्‍यो भन्ने चुनावी राजनीति सुरु भइसकेको उनले बताए । 'मैले मेरो घरको चुल्हो बाल्नका लागि राजनीतिमा आएको होइन,' उनले भने ।

राजनीति वैकल्पिक नहुने पनि बस्नेतको भनाइ छ । अहिले नयाँ गठन भइरहेका दलहरूले वैकल्पिक राजनीति गर्ने भनिरहेका बेला बस्नेतले भने वैकल्पिक राजनीति नभई राज्यसत्ता संचालन गर्नका लागि राजनीति गर्न लागेको बताए । 'राजनीतिमा बाध्यात्मक प्रवेश गरिएको हो । रहरले राजनीतिमा प्रवेश गरेको होइन, ६२ वर्षको उमेरमा राजनीति लागेको हौं । अब राष्ट्रमा केही परिवर्तन गर्नुपर्छ,' उनले भने ।

गतिशील पार्टीले पोखरामा पर्यटन, भैरहवामा एयरपोर्ट र कोशी प्रदेशमा गएर कृषिका कुरा गरिरहेको बस्नेतको भनाइ छ । मुलुक संघीयतामा रहेकाले राजनीतिक दलका एजेन्डा पनि विकेन्द्रित हुनुपर्ने उनको धारणा छ । 'आरामदायी जीवन बिताउने कुरालाई थाती राखेर संघर्ष गरिरहेको छु, छोराछोरी र नाती पुस्ताका लागि हामी राजनीतिमा आएको हो,' उनले भने । भदौ २३ र २४ मा जेन-जी आन्दोलन बेरोजगारीका कारणले भएको पनि उनले बताए । 

मुलुकमा युवाहरूलाई रोजगारी सिर्जना गर्ने र आर्थिक रुपान्तरण गरी समतामूलक उद्यमशीलता गर्नका लागि गलोपाले एजेन्डा अघि सार्ने बस्नेतको भनाइ छ । रोजगारी, गरिबी निवारण, सुशासनका लागि पार्टीले राजनीति गर्न लागेको उनले बताए । 

कान्तिपुर

Link copied successfully