९३ नेपालीलाई स्वदेश फर्काउँदै साउदी अरब

आवासीय भिसा (अकामा) नभएका ७३ जना र रोजगारदातालाई छाडेर हिँडेका (हुरुब लागेको) २० जना गरी ९३ जना नेपाली श्रमिकलाई नेपाल फर्काउन फाइनल एक्जिट भिसा जारी

मंसिर १६, २०८२

होम कार्की

Saudi Arabia repatriating 93 Nepalis

काठमाडौँ — साउदी अरबले आवासीय भिसा (अकामा) नभएका ७३ जना र रोजगारदातालाई छाडेर हिँडेका (हुरुब लागेको) २० जना गरी ९३ जना नेपाली श्रमिकलाई स्वदेश फर्काउन फाइनल एक्जिट भिसा जारी गरेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार आवासीय भिसा र हुरुब लागेका नेपालीको स्वदेश फिर्न पाउने भिसा नलाग्दा घर फर्कन पाएका थिएनन् । दूतावासले सार्वजनिक सूचना जारी गर्दै भिसा प्राप्त सूचीमा नाम परेका सबै नेपाली श्रमिकलाई यथाशिघ्र छिटो नेपाल फर्किन अनुरोध गरेको छ ।

दूतावासले दमाम क्षेत्रका श्रमिकका लागि अलग व्यवस्था गरेको छ । दमाम क्षेत्रबाट फाराम बुझाएका तर म्यासेज प्राप्त नभएका व्यक्तिहरूले त्यहाका जनसम्पर्क अधिकृतसँग सम्पर्क गरी एक्जिट भिसाको ‘पेपर’ लिनुपर्नेछ ।

‘मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आइसकेको छ भने एयरपोर्टमै उक्त म्यासेज देखाएर यात्रा गर्न मिल्ने भएकाले कागज लिन राजदूतावास जानु पर्दैन,’ सूचनामा  उल्लेख छ ।

एक्जिट भिसा प्रक्रिया पूर्ण रूपमा निःशुल्क रहेको जनाउँदै नेपाल फर्किने हवाई टिकट भने प्रत्येकले आफैं व्यवस्था गर्नुपर्नेछ । दूतावासले एक्जिट भिसामा उल्लेख भएको राहदानी वा ट्राभल डकुमेन्ट नम्बर आफूसाग भएको कागजसँग मिलेको/नमिलेको यकिन गरी मात्र हवाई टिकट खरिद गर्न अनुरोध गरिएको छ ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully