धर्मको हेक्का राखी काम गर्न लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठलाई प्रधानमन्त्रीको निर्देशन 

मन्त्रिपरिषद् बैठकले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Prime Minister directs Lumbini Development Fund Member Secretary Shrestha to work with religious observance

What you should know

काठमाडौँ — सरकारले लुम्बिनी विकास कोषको सदस्य-सचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न नवनियुक्त सदस्य सचिव श्रेष्ठलाई निर्देशन दिएकी छन् ।

‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो । धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून्,’ प्रधानमन्त्रीको निर्देशन थियो । 

श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गरेका छन् । 

गोरखाको सहिद लखन गाउँपालिका-६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन् । मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् ।

केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । 

संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए।

इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उनले बताए ।

कान्तिपुर

Link copied successfully