‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधिले २१ रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ । हामीले कार्यविधिबमोजिम सेवा दिइरहेका छौं । त्योभन्दा बढी त्योभन्दा दायाँबायाँ गरिएको छैन ।’
What you should know
काठमाडौँ — नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले वैदेशिक रोजगारमा जाने श्रमिकसँग अभिमुखीकरण तालिम दिएबापत २१ सयभन्दा बढी शुल्क नलिइएको जनाएको छ ।
‘अभिमुखीकरण तालिम वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाको आधार स्तम्भ हो । वर्तमान सुधारले तालिमको प्रभावकारिता वृद्धि भएको छ । श्रमिकको सूचना प्रवाह गर्न यो अपरिहार्य छ,’ श्रम मन्त्रालयमा आयोजित सरोकारवाला बैठकमा महासंघका अध्यक्ष राजाराम गौतमले भने,‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधिले २१ रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ । हामीले कार्यविधिबमोजिम सेवा दिइरहेका छौं । त्योभन्दा बढी त्योभन्दा दायाँबायाँ गरिएको छैन ।’
वैदेशिक रोजगार व्यवसायी संघले अभिमुखीकरण तालिम केन्द्रबाट २८ रुपैयाँ लिइरहेको आरोप लगाएको छ । संघले अनलाइनबाट नै अभिमुखीकरण दिनुपर्ने र शुल्क घटाउनुपर्ने वताएको छ ।
अध्यक्ष गौतमले नया कार्यविधि जारी भएपछि कक्षामा पढ्न आउन थालेको वताए । ‘अहिले कक्षामा श्रमिक पढ्न आउन थालेका छन् । फर्जी व्यक्तिको अन्त्य भएको छ । कक्षाहरू भरिएका छन्,’ उनले भने,‘२१ भन्दा बढी कसैले लिएमा कारबाही गरिनुपर्छ । यसका लागि अनुगमन गर्न म्यानपावर व्यवसायी र वैदेशिक रोजगार बिभागलाई अनुरोध गर्दछौं ।’
संशोधित कार्यविधिअनुसार तालिम प्रदायक संस्थाका लागि जनशक्ति तथा पूर्वाधारसम्बन्धी नयाँ मापदण्ड तोकिएको छ । जसअनुसार प्रत्येक प्रशिक्षण कक्षामा ८४ इन्चको स्मार्ट बोर्ड दुइटा राख्नुपर्ने, कम्प्युटर प्रिन्टर र विभागको फेमिस (फरेन इम्प्लोइमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सँग मेल खाने आइरिस रेटिना हाजिर मेसिन (आइरिस स्क्यानर) अनिवार्य गरिनुका साथै र तालिमको अवधि पनि बढाइएको थियो । यो नयाँ व्यवस्थासँगै तालिम शुल्क ७ सयबाट बढाएर २१ सय रुपैयाँ पुर्याएको थियो ।
