अछामबाट पत्रकार मेनुका ढुंगानाले महिला अधिकार, न्यायमा पहुँचबाट वञ्चित समुदायका मुद्दा र मानव अधिकारसम्बन्धी विषयहरू निरन्तर उठाउँदै आएकी छन्।
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने दुई व्यक्तिलाई यस वर्ष सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।
आयोगको बैठकले २०८२ सालका लागि स्व. दयाराम परियार स्मृति सम्मान इलामका शङ्कर लिम्बूलाई र मानव अधिकार पुरस्कार कान्तिपुरकर्मी मेनुका ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको हो।
आयोगका दिवंगत कर्मचारी दयाराम परियारको नाममा स्थापना गरिएको स्मृति सम्मान यस पटक शङ्कर लिम्बूलाई प्रदान गरिनेछ। लिम्बू आदिवासी जनजातिको अधिकारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनको योगदानकै आधारमा आयोगले उनलाई सम्मानका लागि छनोट गरेको हो।
मानव अधिकार पुरस्कार भने कान्तिपुरकर्मी मेनुका ढुङ्गानालाई प्रदान गरिनेछ। दुर्गम क्षेत्र अछामबाट उनले महिला अधिकार, न्यायमा पहुँचबाट वञ्चित समुदायका मुद्दा र मानव अधिकारसम्बन्धी विषयहरू निरन्तर उठाउँदै आएकी छन्।
आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा बनेको सिफारिस समितिको प्रस्तावलाई आयोगको मंसिर १६ गते बसेको बैठकले अनुमोदन गरेको हो। सम्मान तथा पुरस्कार दुवैको राशी ५० हजार रुपैयाँ तोकिएको छ। सम्मानपत्र र प्रमाणपत्रसमेत प्रदान गरिने आयोगले जनाएको छ।
आयोगले उनीहरूलाई मंसिर २४ गते, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना हुने कार्यक्रमका बीच सम्मानित गर्ने बताएको छ।
