दक्षिण कोरियामा जी-१ भिसाको दुरुपयोग : नेपाली दूतावास

टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा जी–१ भिसामार्फत सजिलै कोरिया आउन सकिन्छ भन्ने दाबी गर्दै केही समूह र व्यक्तिहरूले भ्रामक सूचना र प्रलोभन फैलाइरहेको दूतावासले जनाएको छ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Abuse of G-1 visa in South Korea: Nepali Embassy

What you should know

धनगढी — दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका अनुसार कोरियाली सरकारले जी–१ (शरणार्थी) भिसा केवल मानवीय संकट, जीवन जोखिम, उत्पीडन वा अत्यावश्यक मानवीय कारणमा परेका व्यक्तिलाई मात्रै प्रदान गर्छ । 'सामान्य कामदार, विद्यार्थी वा पर्यटकका लागि यो भिसा होइन,' दूतावासले जनाएको छ ।

टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा जी–१ भिसामार्फत सजिलै कोरिया आउन सकिन्छ भन्ने दाबी गर्दै केही समूह र व्यक्तिहरूले भ्रामक सूचना र प्रलोभन फैलाइरहेको दूतावासले जनाएको छ। कतिपयले त यो भिसामार्फत कमाइ हुने, बसाइ सहज हुनेजस्ता आश्वासनसमेत दिइरहेको पाइएको दूतावासको भनाइ छ ।

दूतावासका अनुसार यस्तो गलत सूचनामा लागेर धेरै नेपालीले कोरियामा आएपछि कानुनी समस्यामा परिरहेका छन् । 'यस प्रकारको दुरुपयोगले नेपाली नागरिक दीर्घकालीन जोखिममा पर्ने, कानुनी चुनौती भोग्नुपर्ने र भविष्यको भिसा सम्भावनासमेत प्रभावित हुने' दूतावासले चेतावनी दिएको छ।

जी–१ भिसा दूतावासमार्फत नचल्ने

दूतावासले जी–१ भिसाको सम्पूर्ण प्रक्रिया दक्षिण कोरियाको आन्तरिक संयन्त्रमार्फत मात्रै हुने स्पष्ट पारेको छ । 'दूतावासले न त आवेदन दर्ता गर्छ, न सिफारिस नै जारी गर्छ,' सूचनामा भनिएको छ।

शरणार्थी प्रक्रियामा प्रवेश गरेपछि व्यक्तिको अध्यागमन जोखिमसम्बन्धी विवरणसमेत तयार हुने भएकाले यसले भविष्यमा वैदेशिक रोजगारी वा भिसा प्रक्रियामा प्रत्यक्ष असर पार्न सक्ने दूतावासले उल्लेख गरेको छ।

आधिकारिक सूचनामै भरोसा गर्न आग्रह

दूतावासले जी–१ भिसा, शरणार्थी प्रक्रिया र कानुनी जानकारी केवल सरकारी/आधिकारिक स्रोत बाट मात्रै लिन नेपालीहरूलाई आग्रह गरेको छ। कोरियामा कोही गम्भीर मानवीय संकट वा जोखिममा परेमा दूतावासले सबै किसिमको सहयोग र मार्गदर्शन उपलब्ध गराउने समेत जनाएको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठाको संरक्षण दूतावासको प्राथमिक जिम्मेवारी हो ।'

कान्तिपुर

Link copied successfully