म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने

४० दिन कार्यअवधि तोकेर भर्ना गरिँदै, जवानसरह सुविधा

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Temporary police will now be called 'Election Police'

What you should know

काठमाडौँ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने म्यादी प्रहरीलाई ‘निर्वाचन प्रहरी’ का रूपमा पहिचान दिइने भएको छ । विगतमा निर्वाचन सुरक्षार्थ कार्यअवधि तोकेर भर्ना भएका सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’ उल्लेख गरिएकामा यो पटक म्यादी प्रहरीको साटो ‘निर्वाचन प्रहरी’ नामकरण गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाअन्तर्गत अवधि तोकेर नेपाल प्रहरीको नेतृत्वमा रहेर गरी भर्ना हुने जनशक्तिलाई निर्वाचन प्रहरीका रूपमा पहिचान दिन लागिएको बताए ।

‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना गर्ने गरी प्रक्रिया अघि बढाइएको छ,’ प्रवक्ता काफ्लेले कान्तिपुरसँग भने, ‘नामकरण नै सबैथोक त होइन तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व र जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्किन जान्छ, त्यसैले यस पटक निर्वाचन प्रहरीका रूपमा ४० दिन कार्यअवधि तोकेर भर्ना गर्न लागिएको छ ।’

यसका लागि ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड-२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन प्रहरी छनोटदेखि कार्यअवधि गणना गरेर मत परिणाम आउन्जेलसम्म निर्वाचन प्रहरीलाई प्रहरीमातहत रहने गरी खटाइने छ । यसरी खटिने सुरक्षाकर्मीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक पाउने छन् भने जवानले तत्‌तत् जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता दिइने छ । विगतको अभ्यासअनुसार पोसाक भत्ता, यात्रा गर्दा आउने सवारी भत्ता पनि उनीहरूलाई दिइने छ ।

आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने सरकारको तयारी छ । गृह मन्त्रालयका अनुसार २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यही वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी भर्ना भएका थिए । त्यसअघि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिब ९८ हजार र त्यही वर्षको स्थानीय तह निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

गृह मन्त्रालयका अनुसार आगामी निर्वाचन सुरक्षार्थ सवा ३ लाख सुरक्षाकर्मी खटाउने तयारी छ । नेपाली सेनाका करिब ७९ हजार, प्रहरीका करिब ७२ हजार र सशस्त्र प्रहरीका ३३ हजार जनशक्ति परिचालन गर्ने निर्णय भइसकेको छ । यसलाई केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा परिषद्‍बाट अनुमोदन भइसकेको छ ।

‘एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन हुने छन् । बाँकी जनशक्ति निर्वाचन प्रहरीका रूपमा भर्ना गरिने छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै निर्वाचन सुरक्षामा सेना परिचालन गर्न स्वीकृति दिइसकेका छन् । मंसिर अन्तिम साताबाट निर्वाचन सुरक्षामा सेना फिल्डमा खटाउने सैनिक मुख्यालयको तयारी छ ।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा २०७९ मंसिरको तुलनामा करिब ८ लाख नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातासमेतलाई मध्यनजर गरेर आयोगले बितेको मतदानस्थलमा हेरफेर र १६८ मतदानस्थल थप गरेको छ । अब योसहित देशभर १० हजार ९ सय ६७ मतदानस्थल कायम भएका छन् । यसअघि कायम गरिएकामध्ये ९३ मतदानस्थल खारेज हुँदा वृद्धि भएका मतदानस्थल ७५ हुन आउँछ ।

थप भएका मतदानस्थल र सुरक्षा जोखिम/चुनौतीका आधारमा निर्वाचन प्रहरी संख्या पनि बितेको तुलनामा बढ्ने देखिएको र सोहीअनुसार सुरक्षा कार्ययोजना बनाइएको गृहका अधिकारीहरू बताउँछन् । गएको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता मतदानका लागि सूचीकृत थिए । यो पटक ८ लाख ३७ हजार ९२ नयाँ मतदाता थप भएर मतदाता संख्या १ करोड ९० लाख ५ हजार ३ सय २२ पुगेको छ ।

अब मतदाता संख्या, मतदानस्थल, मतदानस्थललाई सुरक्षा चुनौतीका हिसाबले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनी गरिएका वर्गीकरण, जिल्ला र इलाकाको सुरक्षा अवस्था, विभिन्न समूहका गतिविधिलगायतलाई आधार मानेर सुरक्षा संयन्त्रलाई परिचालन गर्ने निर्णय भइसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully