मेडिकल शिक्षा स्नातकोत्तरमा सिट निर्धारण : सरकारीमा १ हजार ३१, निजीमा ९ सय ९९

सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Seat allocation for postgraduate medical education: 1,311 in government, 999 in private

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातकोत्तर तह (पीजी/एमडी,एमएस, नर्सिङ्ग) लगायत विषयका लागि सिट निर्धारण गरेको छ ।

आयोगका अनुसार आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट तोकिएको छ । जसमा सरकारी मेडिकल कलेजले १ हजार ३१ सिट पाएका छन् भने निजीतर्फ ९ सय ९९ सिट तोकिएको छ । देशभर १८ सरकारी र २७ निजी मेडिकल कलेजले पीजी तहको पठनपाठन गर्दै आएका छन् । गत वर्षभन्दा सरकारीमा केही सिट बढेको र निजीमा केही सिट घटेको आयोगले जनाएको छ ।

सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ४ सिट तोकिएको छ । मेडिकल शिक्षाको पठनपाठन थाल्दै गरेको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायले दुई सिट पाएको छ । त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा ४ सिट तोकिएको छ । महाराजगन्ज क्याम्पस (शिक्षण अस्पताल) मा १ सय १८ सिट निर्धारण गरिएको छ ।

त्यस्तै निजीतर्फ सबैभन्दा बढी सिट काठमाडौं विश्वविद्यालय अन्तर्गत मेडिकल साइन्सले पाएको छ । आयोगका अनुसार त्यहाँ १ सय २७ सिट तोकिएको छ । चितवन मेडिकल कलेजले ८९ र नेसनल मेडिकल कलेज वीरगन्जले ८१ सिट पाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully