प्रधानमन्त्री कार्कीद्वारा जेन-जी आन्दोलनका सहिदका परिवारसँग छलफल

सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki discusses with families of Gen-G movement martyrs

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।

सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो । 

भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।

छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully