जेन-जी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका छन् ।

मंसिर १४, २०८२

रासस

Classification of 169 injured in the Gen-G movement

काठमाडौँ — गत भदौ २३­ र २४ गते भएको जेन-जी आन्दोलनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म १६९ जनाको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको छ । अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेको रिजालले बताए ।

उनका अनुसार मङ्सिर ५ र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए ।

प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।

प्रशासन कर्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाइएको छ । जेनजी आन्दोलनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो । 

रासस

Link copied successfully