रौतहटकी असई रागनी भइन् सर्वोत्कृष्ट प्रहरी

देशभरिका सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये प्रसनि रागनी प्रथम भएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताए । प्रसनि रागनी इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत छिन् ।

मंसिर १४, २०८२

शिव पुरी

ASI Ragani from Rautahat named best police officer

What you should know

रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीे प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीमध्ये प्रसनि रागनीलाई सर्वोत्कृष्टसहित प्रथम चयन गरेको हो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पूर्ण व्यावसायिक तरिकाले कार्य सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एवं लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनीय योगदान तथा प्रेरणादायी भूमिकाको कदर गर्दै आइतबार प्रसनि रागनीलाई ४० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका छन् ।

देशभरिका सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये प्रसनि रागनी प्रथम भएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताए । प्रसनि रागनी इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत छिन् । प्रसनि रागनीले घरेलु हिंसाको उजुरी, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र लगायत मुद्दामा उत्कृष्ट काम गरेकाले विभागले नगद र प्रशंसापत्र दिएको हो ।

प्रधान कार्यालयलले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रसनि रागनी लगायत अर्घाखाँची प्रहरी चौकी बालकोटकी प्रहरी हवल्दार शान्ता खत्री र जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङलाई समेत नगद र प्रशंसा–पत्र प्रदान गरेका छन् । खत्री दोस्रो भई ३० हजार र तामाङ तेस्रो भई २० हजार नगद पाइन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाकी प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र नेपाल प्रहरी गण सुनसरीकी प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई नगद १०/१० हजारसहित सान्त्वना पुरस्कार दिइएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully