पोर्चुगलमा चन्दा उठाएर पठाइयो तामाङको शव

एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीका अनुसार मनहरी–४, मकवानपुरका तामाङको शव कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौँ पठाइएको हो।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Tamang's body sent to Portugal after collecting donations

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले चन्दा उठाएर मकवानपुरका सञ्जय तामाङको शव शुक्रवार नेपाल पठाएको छ। उपचारका क्रममा नोभेम्बर ९ गते स्थानीय अस्पतालमा उनको मृत्यु भएको थियो।

एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीका अनुसार मनहरी–४, मकवानपुरका तामाङको शव कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौँ पठाइएको हो। शव पठाउनका लागि तीन हजार ९ सय युरो (करिब ६ लाख ४५ हजार रुपैयाँ) खर्च भएको छ।

शव पठाउनका लागि तामाङ समाज, पोर्चुगल तथा मृतकका आफन्तबाट तीन हजार ८ सय ५० युरो र एनआरएनए पोर्चुगलबाट २५७ युरो गरी ४१ सय ७ युरो संकलन भएको थियो। शव पठाउनबाट जोगिएको २०७ युरो परिवारजनलाई हस्तान्तरण गरिएको जनाएको छ। शव पठाउन निरन्तर सहयोग र समन्वय गरेको भन्दै एनआरएनए सचिव अर्जुन भण्डारीलाई संघले धन्यवाद दिएको छ।

कान्तिपुर

Link copied successfully