प्रधानमन्त्रीलाई राप्रपाले भन्यो : यो सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै होइन

राप्रपाले भन्यो- 'आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने सुनिश्चितता गरियोस् । त्यो सम्भव छ र कार्यान्वयन गरियोस् ।'

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

RPP tells Prime Minister: This government is not just about holding the 2084 elections in 2082

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई २०८२ मा चुनाव गराउने म्यान्डेट मात्रै नभएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएको छ ।

राप्रपाले सरकारले सर्वपक्षीय संवाद गर्नुपर्ने माग अगाडि सारेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसहितको सर्वपक्षीय संवाद हुनुपर्ने राप्रपाको माग छ ।

प्रधानमन्त्री कार्कीलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू शनिबार साँझ बालुवाटार पुगेका थिए । भेटपछि राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले बनेको सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै होइन, देशको समस्याहरूको समाधान गर्नेगरी कार्यक्रम अघि बढाओस् । केबल निर्वाचन गरेर समस्या पर ठेल्ने काम नगरोस् । अहिले हुने चुनाव समस्याको समाधान होइन । राजा, राजनीतिक दल, जेनजी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक बसाओस् र देशलाई दीर्घकालीन निकास देओस् त्यसको पहल गरोस् यो सरकारले भनेका छौं ।'

त्यस्तै, राप्रपाले विदेशमा बस्ने नेपाली मतदाताले आगामी फागुन २१ को चुनावमा मत दिन पाउने व्यवस्था गर्न पनि माग गरेको छ । 'आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने सुनिश्चितता गरियोस् । त्यो सम्भव छ र कार्यान्वयन गरियोस्,' प्रधानमन्त्रीसँग पार्टीले राखेका विषयबारे लिङ्देनले भने, 'जेन-जी आन्दोलनका प्रमुख पक्ष सहिद परिवार र घाइते हो । उनीहरुका माग सम्बोधन गरोस् । जेन-जी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरू पक्राउ गर्ने र दुःख दिने काम भएको छ । त्यसमा अपराधिक क्रियाकलामा सहभागी भएकालाई समात्नुपर्छ । तर प्रदर्शनमा मात्रै सहभागी भएकै आधारमा पक्रिने काम बन्द होस् ।'

जेन-जीका प्रतिनिधिलाई सिंहदरबार प्रवेश गर्न रोक लगाउने कार्य गलत भएको विषय पनि प्रधानमन्त्रीसमक्ष उठाएको लिङ्देनले बताए ।   

चुनावको तयारीस्वरुप प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गरिरहेकी छन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालयलगायतको पनि उपस्थिति थियो ।

कान्तिपुर

Link copied successfully