नयाँ-नयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँडौँ : प्रधानमन्त्री कार्की
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझाउन आएका राप्रपाका नेताहरूलाई जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा कार्यान्वयन गर्न सुझाव दिएकी छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आएका राप्रपाका नेताहरूलाई प्रधानमन्त्रीले नयाँ-नयाँ समस्या तेर्स्याएर नभई सम्हालिएर अगाडि बढ्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीलाई भेट्न राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू शनिबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै गठन नभएको बताएका थिए । उनले चुनाव समस्याको समाधान नभएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिक दल, जेन-जीलगायत सरोकारवालाको सर्वपक्षीय बैठक बोलाउनुपर्ने र देशलाई दीर्घकालीन निकास दिनुपर्ने माग गरेका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्ना एजेन्डा लिएर जनतामा जान र अनुमोदित भएर कार्यान्वयन गर्न सुझाव दिएकी थिइन् । प्रधानममन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकमा थप समस्या र क्षति बेहोर्ने अवस्था आउन नहुने बताएकी थिइन् ।
'हामी राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्छ । झगडा धेरै गर्यौँ । क्षति धेरै बेहोरिसक्यौँ । धेरै कुरा गुमाइसक्यौँ । अब भएको जोगाऔँ । नयाँ-नयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाने कुरा गरौँ । चुनावमा जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ,' प्रधानमन्त्रीले भनेकी थिइन्, 'सम्भावित अस्थिरताप्रति सतर्क हुनुपर्छ ।
यहाँ मेरा लागि र यो सरकारका लागि कोही आफन्त-पराया छैनन् । हामी कुनै पनि कारणले पंक्तिभेद गर्दैनौँ । तपाईँहरू र अरु जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौँ ।'
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार प्रकरणका धेरै थाती रहेका मुद्दा अगाडि बढेको पनि राप्रपा नेताहरूलाई बताएकी थिइन् । 'यस मामिलामा पनि चुप लागेर बस्दैनौँ । मुलुकको वातावरण बिगार्न धेरै लागेका छन् । यिनलाई कारबाही नगर्ने हो भने यो देश कहिल्यै उँभो लाग्नेवाला छैन,' प्रधानमन्त्रीले भनेकी थिइन्, 'दण्डहीनतालाई प्रश्रय दिए राम्रो हुँदैन । यसपालि त्यस्तो हुनुहुँदैन । निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै पनि मारिएका छन् । यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ ।'
प्रधानमन्त्री कार्कीले चुनावमा पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेको पनि बताएकी थिइन् । उनले राप्रपालाई पनि स्वच्छ चुनावका लागि मितव्ययी ढंगले अगाडि बढ्न आग्रह गरेकी थिइन् ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपाका शीर्ष नेताहरू सहभागी थिए ।
