नेपाल–यूएई सम्बन्ध ‘गहिरो मैत्रीपूर्ण’ : राजदूत अल-सम्सी

यूएईले २०१५ को भूकम्प, कोभिड–१९ महामारी तथा बाढी–पहिराजस्ता प्राकृतिक विपत्तिमा नेपाललाई सहयोग पुर्‍याएको उल्लेख गर्दै दूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Nepal-UAE relations 'deeply friendly': Ambassador Al-Samsi

What you should know

काठमाडौँ — नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला साएद मुबारक जर्वान अल-सम्सीले यूएईले नेपालसँगको सम्बन्ध परस्पर सद्भाव, सम्मान र साझा हितमा आधारित गहिरो मैत्रीपूर्ण रहेको जनाएका छन् । 

काठमाडौंमा शनिबार आयोजित यूएईको ५४औँ राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै राजदूत अल-सम्सीले दुवै देश संयुक्त राष्ट्र संघका सदस्यका रूपमा जलवायु परिवर्तन, विश्व शान्ति र आतंकवादविरुद्धको लडाइँमा समान दृष्टिकोण साझा गर्ने उल्लेख गर्दै यूएईले कठिन परिस्थितिमा नेपालसँगै उभिँदै आएको बताए । 

यूएईले २०१५ को भूकम्प, कोभिड–१९ महामारी तथा बाढी–पहिराजस्ता प्राकृतिक विपत्तिमा नेपाललाई सहयोग पुर्‍याएको उल्लेख गर्दै दूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । दूतावासका अनुसार यूएईमा ठूलो संख्या नेपाली सुरक्षित वातावरणमा बसोबास गर्दै आएका छन् । उनीहरू विभिन्न क्षेत्रका पेसामा संलग्न रहँदै दुवै देशको आर्थिक विकासमा योगदान गरिरहेका छन् ।

यूएईले नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, मानव स्रोत विकास तथा अन्य साझा चासोका क्षेत्रमा नेपालसँग सहकार्यको दायरा अझ विस्तार गर्न इच्छुक रहेको जनाएको छ। नेपालले २०२६ सम्ममा न्यून विकसित देशको सूचीबाट बाहिरिने लक्ष्य राखेको उल्लेख गर्दै यूएईले नेपाल सरकारको प्रयासको प्रशंसा गरेको छ । 

यूएई समाजको एकताले आपसी सम्बन्धको मजबूती र सहकार्यको भावनालाई प्रतिविम्बित गर्ने उनको भनाइ छ ।उनका अनुसार यूएईले दिगो विकास, स्वच्छ ऊर्जा, अन्तरिक्ष अनुसन्धानदेखि कृत्रिम बुद्धिमत्तासम्मका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै विश्वका अग्रणी राष्ट्रमध्ये आफ्नो स्थान सुरक्षित गरेको छ । यी उपलब्धिहरू संयोगले नभई उत्कृष्टता, स्रोतको विवेकी उपयोग र जनशक्ति तथा ज्ञानमा गरिएको लगानीको परिणाम भएको उनको भनाइ थियो ।

'विवेकी दृष्टि र दृढ इच्छाशक्तिमा आधारित यात्राले यूएईलाई प्रगति, विकास र नवप्रवर्तनको अद्वितीय मोडेल बनाएको छ,' उनले भने ।

राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयानले २०२५ लाई 'समुदायको वर्ष' घोषणा गरेकाले यो वर्ष अझ विशेष रहेको दूतावासले जनाएको छ। 'यसले एकता, सहकार्य र समुदायिक सहभागितामा आधारित हाम्रो दीर्घकालीन मूल्यप्रति नेतृत्वको गहिरो विश्वास झल्काउँछ,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully