भारतमा नेपाल ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’ का रूपमा सम्मानित

नेपाल पर्यटन बोर्डले १५ प्रमुख ट्राभल ट्रेड कम्पनीसँगको सहकार्यमा भारतीय यात्रा व्यवसायी तथा प्रमोटरहरूलाई नेपालका विशिष्ट पर्यटन प्याकेज र आकर्षण प्रस्तुत गरेको थियो।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Nepal honored as ‘Best Adventure Tourism Destination of the Year’ in India

What you should know

काठमाडौँ — भारतको पुणेमा सम्पन्न भारत इन्टरनेसनल ट्राभल मार्ट (आईआईटीएम) ले नेपाललाई ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’को रूपमा सम्मानित गरेको छ। 

नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएम–पुणे २०२५ का अवार्ड्स नाइटमा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्टले ग्रहण गरेका थिए ।

समारोहअन्तर्गत ‘डेस्टिनेसन प्रेजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू समेटिएको प्रभावशाली अडियो–भिजुअल प्रस्तुति दिएका थिए । बुद्ध सर्किट, रामायण सर्किट, अन्तरदेशीय इको–ट्रेलहरू, युनेस्को सूचीमा रहेका सम्पदाहरू, आध्यात्मिक तीर्थमार्ग, विश्वस्तरीय ट्रेकिङ तथा हिमाल आरोहण अवसर, र रोमाञ्चक साहसिक खेलजस्ता आकर्षणहरू प्रस्तुतीकरणको मुख्य थिम बनाइएका थिए।

आईआईटीएम पुणे २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध थप सुदृढ बनाएको तथा नेपाललाई ‘अल–सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा स्थापित गर्न योगदान गरेको वरिष्ठ अधिकृत रेग्मीले बताएका छन्।

Nepal honored as ‘Best Adventure Tourism Destination of the Year’ in India

कार्यक्रममा नेपाल पर्यटन बोर्डले १५ प्रमुख ट्राभल ट्रेड कम्पनीहरूसँगको सहकार्यमा भारतीय यात्रा व्यवसायी तथा प्रमोटरहरूलाई नेपालका विशिष्ट पर्यटन प्याकेज र आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो। तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका सयौँ प्रतिनिधि तथा पर्यटन व्यवसायीको सक्रिय सहभागिता रहेको बोर्डले जनाएको छ।

आईआईटीएममा रहेको नेपाल पभेलियनले नेपालका सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य र अतिथिसत्कार प्रस्तुत गर्ने प्रभावशाली मञ्चको रूपमा काम गरेको बोर्डको मूल्यांकन छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आईआईटीएम पुणे २०२५ मा बोर्ड र साझेदारहरूको सफल सहभागिताले भारतीय बजारमा नेपालप्रतिको चासो र माग झनै बढाएको छ। 

यस खालका अन्तर्राष्ट्रिय मञ्चहरूमा बोर्डको निरन्तर सक्रियताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

कान्तिपुर

Link copied successfully