कानुन सीमित क्षेत्र भएकाले जनशक्ति मात्र उत्पादन हुँदा अराजकता पनि हुन सक्नेतर्फ उनीहरुले संकेत गरेका छन् ।
What you should know
काठमाडौँ — पछिल्लो समय कानुन पढ्ने विद्यार्थीको संख्या बढेसँगै यसले उत्पादन गर्ने जनशक्तिबारे पनि चिन्ता गर्न थालिएको छ ।
कानुन अध्ययनपछि वकालत गर्ने वा न्यायाधीश हुने मात्र नभई सामाजलाई पनि नैतिक रुपमा कानुनप्रति जिम्मेवार र लैंगिक रुपमासमेत सचेत बनाउने पक्षमा कानुन व्यवसायी लाग्नुपर्ने भन्दै सरोकारवालाले यसमा जोड दिने व्यावहारिक शिक्षा पनि दिनुपर्ने माग गरेका हुन् ।
नेपाल बार एसोसिएनका अध्यक्ष विजयप्रसाद मिश्रले पछिल्ला दिन युवाहरुमा कानुनप्रति आकर्षण बढेको तर त्यो स्तरको गुणस्तर र क्षमता विकास गर्न जरुरी हुने दाबी गरे । नेसनल ल कलेज र जुरी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै बार अध्यक्ष मिश्रले जनशक्ति उत्पादनभन्दा उनीहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए । उनले कानुन सीमित क्षेत्र भएकाले जनशक्ति मात्र उत्पादन हुँदा अराजकता पनि हुन सक्नेतर्फ संकेत गरे ।
जुरी नेपाल र नेसनल ल कलेजले यूएनएफपीएको सहयोगमा बीएएलएलबी अध्ययनरत विद्यार्थीलाई ‘कानुनी मेन्टरसिप’ कार्यक्रम चलाएको थियो । निकट भविष्यमै कानुन व्यवसायी हुन गइरहेका उनीहरुलाई लैंगिक मर्यादा, सामाजिक मूल्य र मान्यता, अनुसन्धान, कानुनको दीर्घकालीन प्रभावलगायत १० विषयमा ६ महिनाको कानुनी मेन्टरसिप कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सिनाले कानुनी शिक्षा अहिले आकर्षणको विषय भएको तर यसलाई सामाजसँग पनि जोड्ने व्यावहारिक सिप यस्ता कार्यक्रमले दिने बताए । नेसनल ल कलेजका प्रमुखसमेत रहेका तिमल्सिनले निकट भविष्यमै अदालतमा अभ्यास गर्न जाने २० जना विद्यार्थीलाई ‘मेन्टरसिप’ प्राप्त गरेर धेरै ज्ञान र अनुभव हासिल गर्न सफल भएको दाबी गरे ।
यूएनएफपीएका नेपाल प्रमुख श्रीराम हरिदासले युवाहरुमा लगानी बढाउनुपर्ने बताए । उनले युवाहरुमा गरिने लगानी भविष्यका लागि भएकाले उनीहरुले सबै कुरामा परिपक्व बनाउनुपर्ने दाबी गरे ।
