आइतबार प्रधानमन्त्रीलाई साक्षी राख्दै एकता घोषणा हुने
काठमाडौँ — पछिल्ला केही वर्षमा विभाजित र विभिन्न समूह बनाएका गैरआवासीय नेपालीहरूको दुई संस्थाका बीचमा सहमति भएको छ। बिहीबार महेशकुमार श्रेष्ठ र बद्री केसीबीच यसअघिका विवादलाई टुंग्याएर एक भएर जाने सहमति भएको हो ।
पछिल्लो समय दुवै एनआरएनका समूह शेष घले र अर्को पक्षका रूपमा विभाजित भएका थिए । घले पक्षले सर्वोच्चको फैसला कार्यान्वयन भन्दै काठमाडौंमा अलग्गै निर्वाचन गरेर श्रेष्ठलाई अध्यक्षका रूपमा निर्वाचित भएको घोषणा गरेपछि एनआरएनए विवाद झन चुलिएको थियो ।
केसी पक्षले बालुवाटारस्थित केन्द्रीय कार्यालय हस्तान्तरण नगरी आफूहरू संस्थापन भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा नै हालेको थियो । श्रेष्ठले पनि आफू आधिकारिक भएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा श्रेष्ठले आफू अध्यक्ष भएपछि एकताका लागि छलफल थालेका थिए । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका आफूहरू अब एउटै संस्था बनाउन सहमत भएको र दस बुँदे सहमति भएको एनआरएनका एक पक्षका अध्यक्ष बद्री केसीले जानकारी दिए ।
एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान दुवै पक्ष तयार भएको छ ।
महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति भएको केसीले बताए । आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितमा एकता अनि नयाँ महाधिवेशनको मिति घोषणा कार्यक्रम हुने केसीले बताए ।
