बाढीपहिरो प्रभावित रोशी र नमोबुद्धमा मन्त्री घिसिङको निरीक्षण

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताएका छन् ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Minister Ghising inspects flood-affected Roshi and Namobuddha

What you should know

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट प्रभावित काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।

गत वर्ष असोजको अविरल वर्षासँगै आएको बाढी पहिरोले त्यस क्षेत्रका सडक एवं पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको थियो । तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा पुगेका हुन् । 

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनस्थापना एवं पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।

गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्‍याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ । बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ  । बाढीले १० शय्याको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully