सेनालाई निर्देशन दिँदै प्रधानमन्त्रीले भनिन्- 'आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन'

जनतालाई सुरक्षाको प्रत्याभूति दिन तथा राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न उनले सेनालाई निर्देशन दिइन् ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Giving instructions to the army, the Prime Minister said, 'Not a single drop of blood should be shed in the upcoming elections'

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताएकी छन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण र निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिँदै उनले भनिन्, 'एक जना पनि घाइते हुनुहुँदैन ।'

यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न उनले सेनालाई निर्देशन दिइन् । 'मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,' उनले भनिन् ।

जेन-जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न पनि उनले निर्देशन दिइन् । 'स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्,' उनले भनिन् । 

जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न पनि उनले सेनालाई निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने राष्ट्रिय अभिभारा रहेको बताइन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने उनले‍ विश्वास गरिन् ।

सो क्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully