नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने सम्मेलनको शुक्रबार औपचारिक घोषणा गरेको हो ।
What you should know
काठमाडौँ — काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ हुने भएको छ ।
नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने सम्मेलनको शुक्रबार औपचारिक घोषणा गरेको हो । सम्मेलन जियोटेक्निकल इन्जिनियरिङमा केन्द्रित रहने एनजीएसले जनाएको छ ।
अन्तर्राष्ट्रिय सोइल मेकानिक्स एन्ड जियोटेक्निकल इन्जिनियरिङ सोसाइटी (आईएसएसएमजीई) अन्तर्गत ११औं एसियन युवा जियोटेक्निकल इन्जिनियर (११औं एवाईजीईसी) र दक्षिण एसियाली जियोटेक्निकल सोसाइटीहरूको एसोसिएसन (एजीएसएसए) अन्तर्गत प्रस्तावित पहिलो दक्षिण एसियाली जियोटेक्निक्स सम्मेलन (एसएसीजी) सँग मिलेर सम्मेलनको संयुक्त आयोजना गर्न लागिएको हो ।
घोषणामा प्रमुख अतिथिका रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव एवं इन्जिनियर केशवकुमार शर्मा र अतिथिका रुपमा आईएसएसएमजीईका एसिया उपाध्यक्ष प्रोफेसर केह–जियान (अल्बर्ट) शौ पनि उपस्थित थिए । एनजीएसका अध्यक्ष सहप्राध्यापक इन्द्रप्रसाद आचार्यले ‘जियोमाण्डु २०२७’ ले एनजीएसको मिसनसँग निकट रूपमा जोडिएको बताउँदै वैज्ञानिक सहकार्य, अनुसन्धान एकीकरण तथा लचिलो पूर्वाधार विकासमा सहयोग पुग्ने कुरामा जोड दिए । एनजीएसलाई शैक्षिक, उद्योग तथा नीति क्षेत्रलाई जोड्ने राष्ट्रिय मञ्चका रूपमा उल्लेख गर्दै जियोमाण्डु शृंखला नेपालका ठूला प्राविधिक सम्मेलनहरूमध्ये एक भएको उनले बताए । सम्मेलनमा १ सय २५ भन्दा बढी वैज्ञानिकहरुको पेपरहरू समावेश हुनेछन् ।
एनजीएसकी महासचिव इन्जिनियर कल्पना अधिकारीले सोसाइटीको समावेशिताप्रतिको प्रतिबद्धता दोहोर्याउदै सरकारी निकायहरू, विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, निजी क्षेत्र तथा युवाहरूबाट सक्रिय सहभागिताको आह्वान गरिन् । सम्मेलनका अध्यक्ष मन्दिप सुवेदीले एसियाली तथा दक्षिण एसियाली सोसाइटीहरूसँगको सहकार्यको महत्त्वलाई जोड दिँदै जियोमाण्डु २०२७ ले ११औं एवाईजीईसी तथा प्रस्तावित पहिलो एसएसीजीसँग मिलेर हिमालय तथा उप–हिमालय क्षेत्रका जियोटेक्निकल चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने महत्त्वपूर्ण मञ्च बन्ने बताए ।
सम्मेलनका संयोजक ढुण्डीराज पाठकले ४० भन्दा बढी देशहरूबाट ५ सय बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको बताए । त्यस्तै, २ सय ४० भन्दा बढी प्राविधिकहरुको प्रस्तुतिकरण र विशेषज्ञ सहितको प्यानल छलफल हुनेछ । युवा संयोजक इन्जिनियर राजन केसीले ११औं एवाईजीईसीले युवा नेतृत्वलाई प्राथमिकता दिँदै सम्मेलन युवा विद्यार्थीका लागि फलदायी बन्ने बताए । ‘पूर्वाधार विकासका लागि पहाडी जियोटेक्निक्स’ विषयवस्तुमा आयोजना हुने ‘जियोमाण्डु २०२७’ ले पहिरो, ढलान विफलता, कटान, नदी गतिशीलता तथा भूकम्पीय जोखिमजस्ता चुनौतीहरूका समाधानमा केन्द्रित रहने बताइएको छ ।
