राष्ट्रिय झन्डा ओढेर देशका धरोहरमा आगजनी गर्नेलाई कानुनी सजायको भागी बनाउनुपर्ने हुन्छ : गृहमन्त्री अर्याल

गृहमन्त्रीले भने, 'देशका सम्पदामाथि भएको क्षति क्षम्य हुँदैन, सह्य हुँदैन । दण्डहीनता स्वीकार्य हुन सक्दैन ।'

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Those who set fire to national heritage while wearing the national flag should be made to face legal punishment: Home Minister Aryal

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालको राष्ट्रिय झन्डा ओढेर सार्वजनिक र निजी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी गर्नुलाई आन्दोलन मान्न नसकिने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले राष्ट्रिय झन्डाको दुरुपयोग बढेको र त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको र झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा लुटपाट र आगजनी भएको विषय उठाएपछि गृहमन्त्रीले जवाफ दिएका हुन् ।

'राष्ट्रिय झन्डाको दुरुपयोग चिन्ताको विषय बनेको छ । राष्ट्रिय झन्डा ओढेर देशका धरोहरहरूमा आगजनी गर्ने, लुटपाट गर्ने कुराहरू, व्यक्तिगत सम्पत्ति घर डढाउने, लुटपाट गर्ने कुराहरू आन्दोलनको सिम्टम (लक्षण) भित्र पर्दैन,' अर्यालले भने, 'यसलाई निरुत्साहित गर्नुपर्छ । यसलाई हामीले सचेतना फैलाएर रोकथाम गर्नेदेखि गम्भीर अवस्था छन् भने कानुनको दायरामा ल्याएर सजायको भागी पनि बनाउनुपर्ने हुन्छ । यो चिन्ताकै विषय बनेको छ ।'

त्यस्तै, मन्त्री अर्यालले देशका सार्वजनिक सम्पत्तिमाथि गरिएको क्षति क्षम्य नहुने स्पष्ट पारे । भदौ २३ र २४ मा जेन-जी आन्दोलनको आडमा सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढेको पनि उनले जानकारी दिएका थिए । 'देशका सम्पदामाथि भएको क्षति क्षम्य हुँदैन, सह्य हुँदैन । कारबाहीका कुरा सार्वजनिक गरेका छौं । जुन विषय कारबाही योग्य छन् र छुट हुन सक्दैनन्, विधिको शासनले जे डिमान्ड गर्छ त्यसमा हामी अडिग छौं,' उनले भने, 'हामी विधिको शासनबाट विचलित भयौं भने आज विभिन्न विषयले हामी ग्रे लिस्टमा छौं, भोलि समग्र विषयमा ग्रे लिस्ट हुँदै ब्ल्याक लिस्टमा हुन्छौं । दण्डहीनता स्वीकार्य हुन सक्दैन ।'

जेन-जीका विभिन्न समूहरूले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग गरिरहेको विषय पनि संसदीय समितिमा उठेको थियो । गृहमन्त्रीलाई सरकारको स्थायित्वबारे सांसदहरूले प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री अर्यालले जेन-जीका समूहहरू राजनीतिको मूल प्रवाहमा आइरहेको र सरकारले बाटो नबिराएको बताए । 'यो राजनीतिक कुरा हो । उहाँहरू राजनीतिको मूल प्रवाहमा आउँदै हुनुहुन्छ । राजनीतिक विचारहरूलाई हामी सम्मान गर्छौं,' उनले भने । सरकार ढलेमा आफ्नो कमिकमजोरीले ढल्ने नत्र आफ्नो काम गर्ने पनि गृहमन्त्रीको भनाइ थियो ।

सरकार गठन भएदेखि नै राजनीतिक द्वन्द्व नियन्त्रणको काममा लागेको पनि गृहमन्त्रीले बताए । राजनीतिक द्वन्द्व नबढोस् भनेर काम गरेको र त्यसमा धेरै हदसम्म सरकार सफल भएको पनि उनको भनाइ थियो । सरकारले चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताउँदै उनले संसद् र सरकारबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए । 

राजनीतिक दल र जेन-जी पुस्तालाई विश्वासमा लिएरै अघि बढ्नेमा सरकार दृढ रहेको पनि गृहमन्त्री अर्यालको भनाइ थियो । उनले भने, 'दलहरूलाई विश्वासमा लिन्छौं । जेन-जी पुस्ताले उठाएको सुशासन र विधिको शासनको पक्षमा काम गर्छौं ।' 

कान्तिपुर संवाददाता

Link copied successfully