जेन-जी प्रदर्शन : भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान खुलेन

प्रदर्शनका क्रममा जलाइएका भाटभटेनीमा १२ जनाको शव फेला परेको थियो। जलेका कंकाल र खरानीबाट डीएनए नमुना निकाल्न नसकिएपछि अहिलेसम्म पनि मृतकहरुको पहिचान हुन सकेको छैन।

मंसिर ११, २०८२

विवेक पोख्रेल

Gen-G protest: 12 people burnt to death in Bhatbhateni yet to be identified

What you should know

काठमाडौँ — २४ भदौको प्रदर्शनमा क्रममा काठमाडौंको चुच्चेपाटी, सुनसरी र मोरङस्थित भाटभटेनीमा जलेका १२ शवको अझै पहिचान हुन सकेको छैन ।

प्रहरीका अनुसार प्रदर्शनमा क्रममा जलेको भाटभटेनीका स्टोर सरसफाइ गर्ने क्रममा यी शवहरु भेटिएका थिए । भेटिएका शव पूर्ण रूपमा जलेकाले तिनीहरुको लिंगसमेत पहिचान भएन।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार भेटिएका शवहरु पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएकोछ। 'शव हेरेर पहिचान हुने अवस्था छैन। डीएनए परीक्षणको प्रयास भयो । तर जलेको कंकाल र खरानीबाट डीएनए नमुना निकाल्न सकिएन,' उनले भने, 'त्यसकारण अहिलेसम्म पनि तिनको पहिचान हुन सकेको छैन।'

उनले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले पनि नमुना संकलन गर्न नसकेपछि के गर्ने भन्ने समस्या भएको बताए। कंकालबाट डिएनए निकाल्ने प्रविधि युरोपका देशहरुमा हुनसक्ने कुरा आएपछि त्यसमा पनि छलफल भइरहेको उनले बताए। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका बाहेक नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा छ । तर यहाँ भने शव परीक्षणको लागि लगिएको छैन । 

उक्त दिन भाटभटेनीका स्टोरहरू बन्द रहेकाले उनीहरू ग्राहक र त्यहाँ कार्यरत कर्मचारी नभएको यसअघि नै भाटभटेनीले बताइसकेको छ । ‘प्रदर्शन र आन्दोलनका क्रममा आफ्नो मान्छेहरु हराएको भन्दै काठमाडौं प्रहरीमा निवेदन पनि प्राप्त भएको छ । त्यसमध्ये केहीका आफ्न्तहरुले आन्दोलनको क्रममा आफ्नो परिवारको सदस्य चुच्चेपाटी, बौद्ध क्षेत्रमा रहेको समेत जानकारी गराएका छन्,’ एसपी भट्टराईले कान्तिपुरसँग भने, ‘मृतकका आफन्तले हुलिया दिँदासमेत शव पूर्णतः जलेको अवस्थामा भएकाले थप अनुसन्धान गर्न सकिएको छैन ।' 

मोरङ्गस्थित भाटभटेनीमा भेटिएको एक शवको भने पहिचान नभएपनि कोशी अस्पतालमा नमुना संकलन गरेर अन्त्येष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबिद् कटुवालका अनुसार घटनास्थलमा अस्थिपञ्जर भेटिएको थियो । 'हामीले स्थानीय तहलाई शव व्यवस्थापनको जिम्मा दिएका थियौं, ' उनले भने, ‘कसैले मेरो मान्छे हरायो भनेर अहिलेसम्म आएको पनि छैन । हामीले पनि नाम, थर, वतन केही पत्ता लगाउन सकेको छैन ।’

सुनसरीको भाटभटेनीमा फेला परेका ४ शवको पनि अझै पहिचान हुन सकेको छैन । ‘शव जस्तो देखिने खरानी भेटिएको हो, ’ जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘शवको अवस्था लगभग खरानी नै थियो । त्यही समयमा त्यसको डिस्पोज भयो । अहिले सम्म कोही पनि हाम्रो सदस्य भनेर आएका छैन ।’

२३ र २४ भदौको प्रदर्शनमा काठमाडौंको कोटेश्वर भाटभटेनीमा पनि एक शव भेटिएको थियो । पोखरामा जिल्ला प्रशासन कार्यालयसहित अटोसोरुम जलाउने क्रममा ३ जना, पर्सामा घर जलाउने क्रममा १ जना र चितवनमा जलिरहेको घरको  ग्यास सिलिन्डर पड्केर एक जनाको मृत्यु भएको थियो । उनीहरु सबैको भने पहिचान भइसकेको छ । 

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाले पहिचान नभएका तथा बेवारिसे शवलाई सम्बन्धित प्रहरी कार्यालयले समितिको निर्णय बमोजिम स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सामाजिक संघसंस्थाहरुको रोहवरमा स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरी सोको विवरण राख्ने व्यवस्था गरेको छ । 

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जीले २३ भदौमा सडकमा प्रदर्शन गरेका थिए। पहिलो दिन प्रहरीको अत्यधिक दमनबाट १९ जनाको मृत्यु भएपछि झन् आक्रोश बढ्यो र २४ भदौमा अझ बढी प्रदर्शनकारी सडकमा उत्रिए। दुवै दिनको घटनामा मृत्यु भएकाको संख्या ७६ पुगेको थियो भने २५ सय ७१ जना घाइते भएका थिए । 

सम्बन्धित अन्य समाचार

भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, अन्यमा तोडफोड र लुटपाट

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully