युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल र स्वकीय शाखा अधिकृत आकृति घिमिरेले विज्ञप्ति जारी गर्दै प्रतिशोध साँधेर तीन जनाको नियुक्ति खारेज गरिएको भनेका छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्रीको सचिवालयबाट हटाइएका तीन जना सदस्यले स्वकीय सचिव आदर्श श्रेष्ठको राजीनामा माग्दा आफूहरुलाई हटाइएको बताएका छन् ।
युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल र स्वकीय शाखा अधिकृत आकृति घिमिरेले विज्ञप्ति जारी गर्दै प्रतिशोध साँधेर तीन जनाको नियुक्ति खारेज गरिएको भनेका छन् । विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नै घेराबन्दीमा पारेर आफूहरुविरुद्ध प्रतिशोध साँधेको भनिएको छ ।
श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित नातेदारलाई नियुक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर श्रेष्ठको बचाउ गरेको थियो । त्यो विज्ञप्तिपछि आफूहरु आपत्ति जनाएको उनीहरुले भनेका छन् ।
'स्पष्टीकरणको ढाँचामा स्वकीय सचिवालयको लेटरहेडमै प्रकाशित अर्को विज्ञप्तिसमेत आएपछि हामीले त्यसमा आफ्नो आपत्ति जनायौं,' विज्ञप्तिमा भनिएको छ, 'भदौ २३ को जेन-जी आन्दोलन सबैखाले भ्रष्टाचारका विरुद्ध थियो । जेन-जी आन्दोलनको अग्रमोर्चामा रहेर हामीले पनि नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध नारा लगाएका थियौं । यसकारण जेन-जी आन्दोलनपछि गठन भएको यो संक्रमणकालीन सरकार सन्चालनको क्रममा, आन्दोलनको मर्मविपरित नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन रहने कुरै भएन । हामीले यसको आलोचना र विरोध दुवै गर्यौँ ।'
अहिले पनि आफूहरु श्रेष्ठको राजीनामा वा प्रधानमन्त्रीबाट बर्खास्तीको पक्षमा रहेको उनीहरुले बताएका छन् । 'आदर्शकुमार श्रेष्ठले गर्नुभएको गलत कामलाई समेत प्रश्रय दिने तरिकाले नातावादलाई संस्थागत गर्न जसरी प्रधानमन्त्रीको स्वकीय सचिवालयको लेटरहेडमा विज्ञप्ति आएको थियो, सो कुराको लागि प्रेस सल्लाहकार राम रावलज्यूसमेत जवाफदेही हुनुपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'सम्माननीय प्रधानमन्त्रीज्यूले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ र देशलाई नयाँ निकासको बाटोतर्फ लैजानको लागि हिम्मतका साथ काम गर्नुपर्छ ।'
