सुन तस्करी प्रकरणमा २० लाख नगद धरौटी बुझाएर रिहा भए नेता महरा 

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि महराले जिल्ला अदालत काठमाडौंमा नगद नै धरौटी बुझाएपछि रिहा गरिएको कठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Leader Mahara released on bail of Rs 2 million in gold smuggling case

काठमाडौँ — सुन तस्करी मुद्दामा जिल्ला अदालतको आदेशले थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा  २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । 

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि महराले जिल्ला अदालत काठमाडौंमा नगद नै धरौटी बुझाएपछि रिहा गरिएको कठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो । 

त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाले थुनामा पठाएपछि त्यसविरुद्ध महरा उच्च अदालत पुगेका थिए । 

उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।

गत वर्षको ९ चैतमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

कान्तिपुर

Link copied successfully