धर्ना, विरोध र जुलुसका गतिविधिको सुक्ष्म निगरानीको व्यवस्था मिलाइएको छ : गृहमन्त्री अर्याल

'विभिन्न समूहहरूले विविध माग राखी प्रदर्शन, धर्ना, विरोध, जुलुसलगायत गरिरहेको गतिविधिहरूको सुक्ष्म निगरानी गर्ने, साथै समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।'

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Arrangements have been made for close monitoring of sit-ins, protests and processions: Home Minister Aryal

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहरूले विभिन्न माग राखेर प्रदर्शन गर्ने, धर्ना, जुलुस र विरोध कार्यक्रम गर्ने कार्यको सुक्ष्म निगारानी भइरहेको बताएका छन् । त्यस्ता कार्यलाई मध्यनजर गरी प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । 

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले सरकारले शान्ति सुरक्षाको व्यवस्था चुस्त पार्ने योजनाअन्तर्गत विभिन्न समूहहरूको निगरानी भइरहेको बताएका हुन् ।

'विभिन्न समूहहरूले विविध माग राखी प्रदर्शन, धर्ना, विरोध, जुलुसलगायत गरिरहेको गतिविधिहरूको सुक्ष्म निगरानी गर्ने, साथै समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ,' गृहमन्त्री अर्यालले बताए ।

जेन-जी आन्दोलनपछि विकसित भएको घटनाक्रम र राजनीतिक परिवर्तनपछिको अवस्थाबारे पनि सरकारले छलफल गरेको गृहमन्त्री अर्यालले बताए । 'जेन-जी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृंखल गतिविधिहरू भए गरेको देखिएमा अथवा केहि समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष (हेल्प डेस्क) गृह मन्त्रालयमा स्थापना गरिएको छ,' उनले भने । 

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राख्दै सरकारले पटकपटक सुरक्षा समितिको बैठक बसेको र सुरक्षा रणनीति तय गरेको उनले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully