'जेन-जी आन्दोलनका क्रममा कारागार तथा बन्दी गृहबाट भागेका, फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ लाई फिर्ता ल्याइसकिएको छ ।'-गृहमन्त्री अर्याल
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले भादौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा मन्त्री अर्यालले उक्त जानकारी दिएका हुन् ।
मन्त्री अर्यालले जेन-जी आन्दोलनको आडमा अपराधमा संलग्नहरूलाई पक्राउ गर्ने मुद्दा चलाउने कार्य भइरहेको बताएका हुन् । 'भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कूल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ,' मन्त्री अर्यालले भने ।
गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा मुलुकका विभिन्न सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता ल्याउन संयुक्त प्रयास भइरहेको जानकारी दिए । 'जेन-जी युवा पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले सूचना आदान प्रदान गरी कार्ययोजना बनाई संयुक्त रुपमा प्रभावकारी सेक्युरिटी अपरेसन संचालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यन्वयन गरिएको छ,' उनले भने, 'हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेन-जी आन्दोलनको क्रममा कारागार तथा बन्दी गृहबाट भागेका, फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दी मध्ये ९ हजार ६ सय ९७ लाई फिर्ता ल्याइसकिएको छ ।'
जेलबाट भागेर फिर्ता नआएका कैदीबन्दीलाई पक्राउ गर्नका लागि विशेष अपरेशन सञ्चालन गरिएको पनि गृहमन्त्री अर्यालले जानकारी दिए ।
